धनकुटा/जिल्ला प्रशासन कार्यालय धनकुटाले जारी गरेको निषेधाज्ञाको अवधि गए राति १२ वजे देखि लागू हुने गरी पुनः एक साता बढाएको छ ।

नेपाल सरकारले कोरोना भाइरस कोभिड–१९ को संक्रमणबाट बच्न आह्वान गरेको लकडाउनलाई अझ सशक्त र प्रभावकारी बनाउन निषेधाज्ञाको अवधि लम्ब्याइएको प्रमुख जिल्ला अधिकारी केशवप्रसाद विमलीले जानकारी दिए । ‘घर बाहिर निस्कन नपाइने आदेश जारी गरे पनि सर्वसाधारणले त्यसको उल्लंघन गरेको गुनासो जनस्तरबाटै आएकोले अबको निषेधाज्ञा सशक्त पारिनेछ’, उनले भने, ‘अत्यावश्यक काम बाहेक हिँडडुल गर्न तथा सवारी साधन चलाउने लगायतका कार्य गर्न सक्दो कडाइ गरिनेछ ।’ प्रशासनले आगामी चैत २५ गते मध्य रातिसम्म निषेधाज्ञाको समय सीमा लम्ब्याएको हो ।

अति संक्रमण रोग ऐन २०२० को दफा २ र स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) बमोजिक प्राप्त प्रमुख जिल्ला अधिकारीको अधिकार प्रयोग गरेर उक्त आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालय धनकुटाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । औषधि, खाद्यवस्तु खरिद तथा अत्यावश्यक काम बाहेक कुनै पनि व्यक्तिलाई घर बाहिर ननिस्कन जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । यस्तै, प्रशासनले स्वीकृति दिएका सवारी साधनलाई मात्र अनुमति दिइएको छ । औषधि तथा स्वास्थ्य उपकरण, तरकारी, दूध, इन्धन, खाद्यवस्तु, फलफूल पसल भने खोल्न अनुमति दिइएको जनाइएको छ।