भण्टाबारी/कोरोना भाइरस कोभिड १९ को संक्रमण फैलिन न दिन सरकारले लकडाउन गरेको छ । भारतमा कोरोना भाइरसबाट संक्रमित तथा मृत्यु हुने व्यक्तिको संख्या बढिरहदा सरकारले सीमा नाकामा अत्यावश्यक खाद्य सामाग्री बाहेक आवतजावतमा रोक लगाएको छ ।
 
चीनबाट विश्वभर फैलिने क्रममा रहेको कोरोना भाइरसबाट बच्न सावधानी र सतर्कता अपनाउन आग्रह गर्दै सरकारले गएको मंगलबारबाट सुनसरीसहित देशैभर लकडाउन गरेको हो । गाडी न चल्दा अधिकांश क्षेत्रमा सडक सुनसान छ भने सर्वसाधारण घरमै बसिरहेका छन् । 
 
लकडाउनको समयमा कामकाज न गर्दा घरमा भोकभोकै बस्ने अवस्था आएको सुनसरीका दलित समुदायले गुनासो गरेका छन् । घरमा खाने कुरा केहि छैन,पैसा पनि छैन कोशी गाउँपालीका वार्ड नम्बर ८ भण्टाबारीस्थित मुसहर टोलका असरफी ऋषीदेवले भने घरबाट न निस्कन प्रहरीले भनेको छ । माछा मारेर आठजनाको परिवार पाल्थे तीनदेखि घरमै बसिरहेको छु । उनले भने भएको खानेकुरा सकियो आफूसँग एक पैसा छैन । कोरोना भाइरसबारे बेखबर देखिएका असरफीले भने हामीलाई सरकारले किन घरमै बन्द गरेको छ ? । के के भाइरस भन्छ थाहा छैन अवस्था यस्तै रह्यो भने हामी भोकभोकै मर्छौ । सबैलाई घरमा बन्द गरिदिएको छ गरिबले के खाने स्थानीय फुलोदेवी सदाले भनिन् । साबुनपानीले हात धुनु भन्छ आफूहरूले एक छाक के खाने भन्ने चिन्ता छ् । कहाँबाट साबुन किन्ने पैसा ल्याउने ?उनले प्रश्न गरिन् । कि त हामीलाई काम गर्न जान दिनुपरो कि त खानेकुरा व्यवस्था गरिदिन सरकारलाई फुलोदेवी आग्रह गरिन् ।
 
बजारमा एकहप्ता अघिसम्म पाइने मूल्य भन्दा किराना सामान तथा तरकारी दोब्बर मूल्यमा बिक्रीवितरण भइरहेको हुँदा जीवनयापन गर्न थप समस्या भएको अर्का स्थानीय बिरेन्द्र सदाको भनाइ छ ।  हुनेखाने लाई जतिदिन बन्द भएपनि केहि समस्या हुँदैन अर्का स्थानीय बिरेन्द्र सदाले भने तर हामी हुँदाखानेहरुले के खाने ? । दैनिक ज्यालादारी गरेर एक छाक टार्ने गरेकोमा पछिल्लो तीनदेखि घरमै बसेको बताउदै उनलेले स्थानीय,प्रदेश र संघीय सरकार समक्ष सहयोगको अपिल गरेका छन् । कोरोना भाइरसबाट सर्वसाधारणलाई बचाउन सरकारले लकडाउन गर्ने निर्णय गरेपनि कोशी गाउँपालीकासहित जिल्लाभरकै दलित तथा गरिब समुदाय चेतना अभावमा यसबारे बेखबर छन् ।
 
तरकारीको मूल्य आकाशियो 
 
सरकारले लकडाउन घोषणा गरेपछि सुनसरीमा हरियो तरकारीको मूल्य आकाशिएको छ । लकडाउनका कारण तरकारी तथा खाद्यान्न पसलसमेत बन्द भएको अवस्थामा बिचौलिया र व्यापारीहरुले आफूखुसी हरियो तरकारीको मूल्य बढाएर कालोबजारी सुरु गरेका छन् । लकडाउनको फाइदा उठाएर पाउने मूल्य भन्दा दोब्बर मूल्य बढाएर व्यापारीहरु तथा पसल संचालकहरुले उपभोक्ता ठग्ने गरेको बिरेन्द्रले गुनासो गरे । बजारमा एकहप्ता अघिसम्म पाइने मूल्य भन्दा किराना सामान तथा तरकारी दोब्बर मूल्यमा बिक्रीवितरण भइरहेको हुँदा जीवनयापन गर्न थप समस्या भएको उनको भनाइ छ ।  एकहप्ता अघिसम्म ३० रुपैयाँ केजीमा पाइने फुलगोभी अहिले ६० देखिन्छ ७० रुपैयाँसम्म बिक्री गर्न थालिएको छ् । यसरी किराना पसल संचालकहरुले समेत चामल, दाल, चिनीको मूल्य आफूखुसी बेच्ने गरेको गुनासो आएको छ । दैनिक उपभोग्य सामानको मूल्य बढाएर व्यापारी तथा पसल संचालकहरुले घरमा सुरक्षित बसेका सर्वसाधारणको ढाड सेक्ने काम गरेकोले यसतर्फ सम्बन्धित निकायको ध्यान जानुपर्नेमा उपभोक्ताहरुले माग गरेको छ ।