भण्टाबारी । गैरकानुनी क्रियाकलापमा संलग्न सवारीसाधन प्रहरीले नियन्त्रण लिईमा भन्सार कार्यालयमा बुझाएपनि वर्षौंदेखि लिलामी नहुँदा जीर्ण अवस्थामा थन्किएका छन् । सुनसरी भन्सार कार्यालय सेतुबन्ध कोशी ब्यारेजमा भएका सयौं सवारीसाधन लिलामी हुन नसक्दा पुरानो भएर काम नलाग्ने भएका छन् । जिल्लाका विभिन्न स्थानबाट सुरक्षाकर्मीले नियन्त्रणमा लिइएका मोटरसाइकल, पिकअप, अटो, ट्रक,मारुती,कार सहितका सवारीसाधन चार वर्षसम्म समेत लिलामी हुन नसक्दा जीर्ण बनेका हुन ।

सरकारी निकायको ढिलासुस्तीका कारण वर्षौसम्म भन्सारमा लाखौं मूल्य बराबरको सवारीसाधन त्यतिकै थन्किएको हो । मूल्यांकन गर्न ढिलाइ भएकोले बरामद भएका सवारीसाधन लिलामी गर्न नसकिएको सुनसरी भन्सार कार्यालय सेतुबन्ध कोशी ब्यारेजले जनाएको छ ।

चलाउन सकिने सवारीसाधन पनि भन्सार कार्यालयको परिसरमा थन्किदा समेत लिलामी प्रक्रिया अगाडि बढाइएको पाइदैन । वर्षौदेखि भन्सार परिसरमै त्यतिकै थन्किदा सवारीसाधन जीर्ण बनेका छन् भने लाखौं राजस्व पनि गुम्ने अवस्था छ । नेपाल सरकारको मेकानिकल इन्जिनियरले सुरक्षाकर्मीले बरामद गरिएका सवारीसाधनको मूल्यांकन गर्दै रकम निर्धारण गरेपछि लिलामी हुने प्रावधान छ । चोरी तस्करीका साथै नेपाली तथा भारतीय नम्बर प्लेट लगाएर नियम उल्लंघन गरी गुडाइने सवारीसाधन प्रहरीले नियन्त्रणमा लिई बुझाउने गरेका छन् । सुनसरी भन्सार कार्यालय परिसरमा २०० थान मोटरसाइकल एकदर्जन बढी कार, पिकअप लगायत सवारीसाधन थन्किएका छन् ।

सुनसरी भन्सार कार्यालय सेतुबन्ध कोशी ब्यारेजका प्रमुख भन्सार अधिकृत प्रमोद दासले वैशाख महिनासम्म भन्सार परिसरमा रहेका सवारीसाधन लिलामीको प्रक्रिया अगाडि बढाइने बताउँछन् । नेपाल सरकारका मेकानिकल इन्जिनियरले बरामद भएका विभिन्न सवारीसाधनको मुल्यांकन र रकम निर्धारण गरेपछि लिलामी प्रक्रिया अगाडि बढाइनेछ उनले भने । धेरै सवारीसाधनका कागजात नभेटिएका कारण लिलामी जान समय लागेको बताइएको छ । सबै कानुनी प्रक्रिया पुरा गरेर वैशाखमा लिलामी गर्ने तयारी भइरहेको बताउदै भन्सार अधिकृत दासले भने बरामद भएका सवारीसाधन पुरानो भएकोले अपेक्षाअनुरुप राजस्व संकलन नहुने बताए ।

सवारीसाधन लिलामी मुल्यांकन समितिमा जिल्ला प्रशासन कार्यालय, भन्सार कार्यालय, यातायात व्यवस्था कार्यालय, आन्तरिक राजस्व कार्यालय, कोष तथा लेखा नियन्त्रण कार्यालय र उद्योग वाणिज्य संघका प्रतिनिधि रहने व्यवस्था छ । सोही समितिले वर्षौदेखि थन्किएका सवारीसाधन लिलामी गर्न तदारुकता नदेखाउदा लिलामी प्रक्रिया अगाडि नबढेको हो । चोरी तस्करीका सवारीसाधन नियन्त्रणमा लिई प्रहरीले भन्सार कार्यालयमा बुझाएपनि ती गाडी रहेका बहुमुल्य पाटपुर्जा चोरिएका छन् । सम्बन्धित निकायको उदासीनताका कारण समयमा लिलाम बिक्री नहुँदा लाखौं राजस्व त्यसै गुम्ने अवस्था छ ।