इटहरी/ जिल्ला प्रशासन कार्यालय सुनसरीले भीडभाड हुने कार्य रोक्न निर्देशन जारी गरे पनि हाटबजार भने रोकिएको छैन । कोरोना भाइरसको त्राससँगै जिल्ला प्रशासन सुनसरीले भीडभाड रोक्ने अभियानमा साप्ताहिक हाटबजार घाँडो हुन पुगेको छ ।
भाइरसबारे सतर्कता अपनाए पनि बजारमा ठूलो भीडभाड हुने गरेको भन्दै त्यसतर्फ प्रशासनले ध्यान नदिएको सर्वसाधारणले बताएका छन् । सुनसरीको इटहरीमा धेरै हाटबजार लाग्छन् । इटहरी उपमहानरपालिकाभर दैनिकजसो हाटबजार लाग्ने गरेका छन् । जहाँ दैनिक पाँच हजारभन्दा बढी गृहिणीहरू सहभागी हुने गरेका छन् ।
सुनसरीको इटहरी–२० तरहरामा हप्तामा दुई दिन हाटबजार लाग्छ । बजार लाग्ने ठाउँसमेत अभाव भएको तरहरामा धेरै भीडभाड हुने स्थान हो । तर कोरोनाको सतर्कताको विषयमा चासो नदेखाउँदा समस्या हुन थालेको बजारमा भेटिएकी इटहरी–१९ की शान्ता दाहालले बताइन् । देशभर कोरोनाको सतर्कता अपनाए पनि हाटबजार मुख्य चुनौती भएको भन्दै त्यसतर्फ ध्यान दिन उनले आग्रह गरिन् ।
अहिले जिल्ला प्रहरी कार्यालयसँगै सुरक्षा निकायका कार्यालयहरूमा कोरोनासम्बन्धी जनचेतनामूलक सन्देश दिन माइक घन्किए पनि बजारक्षेत्रमा भने कसैले ध्यान दिएका छैनन् । इटहरी–२० का वडाध्यक्ष मणिराम श्रेष्ठले समस्या देखापरेको बताउँदै सधैँ लाग्दै आएको हाटबजारको विषयमा कुरा उठाउने बेला आएको जनाए । ‘ठूलो सङ्ख्यामा भीडभाडका साथ हाटबजार लाग्ने भएको कारण रोक्न सक्ने अवस्था पनि छैन’ –उनले भने ।
बजारमा स्थानीय उत्पादनसँगै पूर्वी पहाडी जिल्लाबाट आउने तरकारी यहाँका सर्वसाधारणले किन्ने गरेको उनले बताए । ‘यो बजार रोकियो भने सर्वसाधारणलाई समस्या पर्छ वडाध्यक्ष श्रेष्ठले भने, ‘तर, केही समयको लागि व्यवस्थापन गर्ने विषयमा भने हामी गम्भीर भएका छौं ।’ तरहरामा सधैँ भीडभाड हुने समस्या बढेको उनको भनाइ थियो ।
इटहरी–६ मा पनि हप्तामा २ दिन हटिया लाग्छ । एउटा हटियामा करिब १० हजारभन्दा बढी सर्वसाधारण किनमेल गर्न आउँछन् । हटिया लाइनका किराना व्यापारी योगेन्द्र मण्डलले भने, ‘हटियामा धेरै सर्वसाधारण आउँछन् तर प्रशासनलाई थाहा नै छैन ।’ ‘समाचारमा मात्र भीडभाडमा नहिँड्नू भनेको पाइयो, यथार्थमा सुरक्षा तयारीसमेत देखिएन’ मण्डलले भने, ‘यस्तो विषयमा प्रशासन गम्भीर बन्न जरुरी छ ।’
नेपालका पूर्वी जिल्लाहरूमा हाटबजारको व्यापकता रहेको पाइन्छ । पूर्वी नेपालका आइतबारे, सोमबारे, मङ्गलबारे, बुधबारे, बिहीबारे, शुक्रबारे, शनिबारे आदि साप्ताहिक हाटको नामबाट विभिन्न स्थानको नामाकरण भएको छ । हाटबजार ग्रामीणक्षेत्रको बजारको एक रूप हो । हाटबजार सामान्यतया खुला चौर वा खुला सडकमा लाग्ने गर्दछ । हाटबजारमा निश्चित दिन बजार लाग्ने गर्दछ, जहाँ स्थानीयले सामानको किनबेच गर्ने गर्दछन् र भीडभाडसमेत हुने गरेको छ ।






























