विराटनगर/ नेपाल आयल निगम १ नम्बर प्रादेशिक कार्यालय विराटनगरमा एक सातसम्म पुग्ने पर्याप्त इन्धन भए पनि पेट्रोलपम्पमा कृत्रिम अभाव सिर्जना गरिएको छ ।
अहिले पूर्वका अधिकांश पेट्रोलपम्पहरू इन्धन अभाव रहेको बताउँदै बन्द रहेका छन् । प्रदेश १ को राजधानी विराटनगरका अधिकांश पेट्रोल पम्पहरू बन्द छन् । धरान, इटहरी र अन्य क्षेत्रको अवस्था पनि यस्तै छ । आंशिक खुलेका पम्पहरूमा इन्धन भर्ने सवारीको चाप धानिनसक्नु छ ।
पम्पहरूले आयल निगमबाट पेट्रोलियम पदार्थ खरिद गरेर नलग्दा बजारमा तेलको कृत्रिम अभाव देखिएको हो । नेपाल आयल निगम क्षेत्रीय कार्यालय विराटनगरका निमित्त कार्यालय प्रमुख उपनिर्देशक चितरञ्जन दासले एक सातासम्म पुग्ने तेल मौज्दात रहेको दाबी गरे । उनका अनुसार सोमबार बिहानसम्म ३ सय १६ केएल पेट्रोल, ६ हजार ३ सय १० केएल डिजेल र ६ सय ३२ केएल मट्टितेल मौज्दात रहेको जनाए । मौज्दात भएको पेट्रोलियम पदार्थले एक सातासम्म पुग्ने उनको दाबी छ ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य २५ प्रतिशत गिरावट आएपछि पम्पहरूले मूल्य समायोजन पर्खेर बसेको आशङ्का गर्न सकिन्छ । किनकि मङ्गलबार मूल्य समायोजन हुने भएकाले पम्पहरूले तेल भर्न नमानेको बताइएको छ । ‘अन्तर्राष्ट्रिय बजारमा तेल सस्तिएकाले नेपालमा पनि सस्तिन्छ । महँगोमा खरिद गरेको तेल मौज्दात बस्यो भने घाटा हुन्छ भन्ने डरले डिलरहरूले तेल नउठाएको हो’ उपनिर्देशक दासले भने, ‘त्यही कारण धेरै पम्पहरू नखुलेका हुन् ।’
अन्तर्राष्ट्रियस्तरमा कच्चा तेलको मूल्य घटेर ३३.८५ प्रतिशत आएको हुनाले नेपालमा पनि सस्तो हुने भयले डिलरले तेल नउठाएको उनको अनुमान छ । दैनिक ३ सय केएल पेट्रोल र ९ सय केएल डिजेल बिक्री भइरहेको अवस्थामा आइतबार २ सय ८७ केएल पेट्रोल र ७ सय २७ लिटर डिजेल वितरण गरिएको निगमका उपनिर्देशक दासले बताए । दैनिक उपभोग्य वस्तुको अभाव हुनसक्ने त्रास देखिएका बेला पेट्रोल पम्पहरूमा लाइन देखेपछि सर्वसाधारण थप आतङ्कित भएका छन् ।
पम्पमा लाइन देखिएपछि उपभोक्ताले आत्तिएर फूल ट्याङ्की तेल हाल्न शुरु गरे र अभावको हल्ला र उपभोक्ताको त्रासको मानसिकताका कारण तेलको अभाव भएको पेट्रोलियम डिर्लस एशोसिएसन कोशीका अध्यक्ष देवेन्द्र श्रेष्ठले बताए । ‘२ दिनलाई स्टक गरी तेल आयात गरिएको हुन्छ’ उनले भने, ‘एकै दिनमा स्टक तेल कसरी सकिएको हो ?’
स्टक गरिएको तेल सकिएपछि निगममा तेल खरिद गरिने उनले बताए । कोशीमा १ सय १० वटा पेट्रोल पम्पबाट इन्धन वितरण भइरहेको छ । तेलको अभाव देखाएर पम्प सञ्चालकहरूले कालोबजारी पनि शुरु गरिहाल्ने प्रवृत्ति रहेको उभोक्ताहरूको भनाइ छ ।






























