धरान/ विश्वव्यापीरूपमा कोरोना भाइरसको प्रकोप बढिरहेका बेला सरकारले फिल्महल, सभासमारोह तथा महोत्सवमा सहभागी नहुन आह्वान गरेको छ ।
सरकारले गरेको सो निर्णयमा भनिएको छ, ‘सङ्क्रमणबाट जोगिन ठूलो सङ्ख्यामा मानिसहरू भेला हुने सिनेमा हल, सभा समारोह, सामाजिक कार्य एवम् मेला महोत्सव सहभागी नहुन आमजनसमुदायलाई आह्वान गर्ने’, सरकारको निर्णयले वर्षको अन्तिम शुक्रबार रिलिज हुने भनिएका दुई फिल्म ‘चपली हाइट ३’ र ‘प्रेमगीत ३’ को रिलिजमा अन्योलता देखिएको छ ।
शुक्रबार रिलिज हुने तय भएका ‘म यस्तो गीत गाउँछु २’ र आगामी महिना रिलिज हुन लागेको ‘नीरफूल’ र ‘लक्का जवान’ ले गत साता नै आफ्नो रिलिज स्थगन गरिसकेका छन् ।
नेपाली निर्माताहरूको छाता सङ्गठन निर्माता सङ्घले निर्माताहरूलाई सिनेमाहरूको सुटिङ रोक्न अनुरोध गरिसकेको छ भने चलचित्र प्राविधिक सङ्घले पनि सोही प्रकृतिको अनुरोध गरिसकेको छ । उनीहरूका अनुरोधका बावजुद सिनेमाको सुटिङ भने रोकिएका छैनन् ।
वितरकहरूका अनुसार १ महिना हल बन्द भए त्यसको असर ६ महिनासम्म देखिनेछ । कोरोनाभाइरसको त्रास र असरका कारण यो साता विभिन्न ठूला हलिउड र बलिउड फिल्महरूले समेत रिलिज मिति सारिसकेका छन् ।





























