विराटनगर/ विराटनगर–४ कञ्चनबारीमा अन्तर्राष्ट्रिय स्तरको ग्रिनलाइट युनिसेक्स सैलुन सञ्चालनमा आएको छ । ३० लाखको लगानीमा उक्त सैलुन शुक्रबारदेखि सञ्चालनमा आएको हो ।
सैलुनमा हेयर कटिङ, हेयर स्पा, स्ट्रेट, फेस थेरापी, हेयर स्मुथिङ र स्किन केयरलगायतका विभिन्न सुविधा उपलब्ध छ । महिला तथा पुरुष सबैलाई एकै ठाउँबाट सेवा उपलब्ध गराउने गरी सैलुन सञ्चालनमा ल्याइएको हो । गत २ वर्षअघि नोबेल अस्पतालछेउमा स्थापना गरिएको ग्रिनलाइट सैलुनको सफलतापछि दोस्रो शाखाको रूपमा कञ्चनबारीमा विस्तार गरिएको युवा उद्यमी हरिप्रसाद बजगाईंले बताए ।
विराटनगरबाट शुरू गरिएको ग्रिनलाइट ब्राण्डको चेन अन्तर्गत आगामी दिनमा नगरक्षेत्रका विभिन्न स्थानका पनि शाखा विस्तार गर्ने तयारी भएको उनले बताए । ‘यहाँ सञ्चालनमा ल्याइएको सैलुनमा महिला र पुरूष दुवैको लागि सुविधा प्रदान गरिएको छ’ सञ्चालक बजगाईंले भने, ‘ग्रिनलाइटले सफलता पाएपछि हामीले कञ्चनबारीमा शाखा विस्तार गरेका हौं । आगामी दिनमा इटहरी र पूर्वका शहरहरूमा पनि शाखा विस्तार गरी ग्राहकलाई सेवा प्रदान गर्ने हाम्रो लक्ष्य छ ।’
सैलुन सञ्चालनमा आएसँगै प्रारम्भिक चरणमा ९ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । सैलुनले कपाल, छाला र नङसम्बन्धी सेवा उपलब्ध गराउनुका साथै अन्तर्राष्ट्रियजगत्मा स्थापित ब्राण्डका सौन्दर्य प्रसाधन सामग्रीसमेत उपलब्ध गराउने जनाइएको छ । सैलुनले युवाहरूलाई स्वरोजगार बनाउन समय–समयमा विभिन्न प्रकारका तालिमहरू समेत सञ्चालन गर्ने लक्ष्य राखेको सञ्चालक बजगाईंले बताए ।





























