भद्रपुर । करिब साढे १० लाखको लागतमा जेष्ठ नागरिक चौतारी निर्माण गरिएको छ । भद्रपुर नगरपालिका वाड नं ९ देवकोटा चोकमा निर्माण गरिएको देवकोटा जेष्ठ नागरिक चैतारीको शनिबार उद्घाटन गरिएको छ ।
चन्द्रगढी चारआली जाने बाटोमा पर्ने देवकोटा चोक भएर आवत जावत गर्ने यात्रुहरुले सवारी साधनमा चढ्न तथा ओर्लेर बस्ने ठाउँ अभाव भएको थियो । यात्रुहरु घाम पानीमा नै सडक छेउमा बस्नुपर्ने वाध्यता तथा स्थानीय जेष्ठ नागरिकहरु फुर्सदको समयमा भेला भै गफगाफ गर्ने उपयुक्त स्थाको अभावलाई मध्यनजर गरि स्थानीयवासिहरुको सक्रियतामा विभिन्न दाताहरुबवाट चन्दा सङ्कलन गरेर चौतारी निर्माण गरेका थिए । चौतारीमा ३० जना मानिस अटाउने क्षमता रहेको छ ।

चौतारीको भद्रपुर नगरपालिका वाड नं ९ का जेष्ठ नागरिक तथा समाजसेवी विष्णुप्रसाद शिवाकोटी र दुर्गाप्रसाद भट्टराईले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।
भद्रपुर ९ का स्वर्गीय पदम प्रसाद दाहालकी श्रीमती कौसिला दाहाल र देवकोटा स्मारक संरक्षण समितिले निःशुल्क जग्गा प्रदान गरेपछि विभिन्न दाताहरुबाट सङ्कलित १० लाख १८ हजार ६ सय रुपैयाँको लागतमा आधुनिक किसिमको सुविधा सम्पन्न चौतारीको निर्माण गरिएको छ । गत कार्तिक २३ गते विधिवतरुपमा शिलान्यास गरिएको चौतारीको निर्माण भद्रपुरका डिजाइनर सञ्जय प्रधानले गरेका हुन् ।

देवकोटा जेष्ठ नागरिक चौतारी निर्माण समितिका संयोजक सोम प्रसाद पौडेलको सभापतित्व तथा समाजसेवी तथा जेष्ठ नागरिक विष्णु प्रसाद शिवाकोटी र दुर्गा प्रसाद भट्टराईको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा चन्द्रगढी दोस्रो खानेपानी उपभोक्ता तथा सरसफाई समितिका अध्यक्ष चुडामणि मैनाली , देवकोटा संरक्षण समितिका अध्यक्ष सन्तोष पोखरेल , चन्द्रगढी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष हिराप्रसाद पोखरेल , कन्चनङ्घा एफ एमका प्रवन्ध निर्देशक चन्द्र भण्डारी लगायतले मन्तव्य राखेका थिए । निर्माण समितिका सह संयोजक खड्ग प्रसाद दाहालले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन हरी पोखरेलले गरेका थिए ।