सुनसरी/ घटना १ः इटहरीको रेयुकाई चौतारीमा भेटिएकी तारा राई गर्भवती अवस्थामा थिइन् । मानसिक रोगी राईको पेटभित्रको बच्चा दिन प्रतिदिन परिपक्व हुँदै गएको थियो । आफ्नै बस्ने खाने टुङ्गो नभएपछि पेटभित्रको बच्चाको के कुरा । यस्तै अवस्थाबाट अन्दाजी ३५ वर्षीया तारालाई इटहरीका सामाजिक अभियानमा लागेका महिलाहरूले उद्धार गरे । इलाम घर बताउने तारा मानसिक रोगी भएको पुष्टि भयो । बुबाआमाले जबरजस्ती विवाह गरिदिएपछि दुई सन्तान पनि जन्मिए । तर दिनदिनै परिवारले राम्रो गर्न छाडेको उनले बताइन् । पीडाकै कारण मानसिक रोगी भइसकेकी ताराले घरपरिवार त्यागिन् । ‘मेरो पीडा सुनिदिने कोही नभएपछि घर छाडेर हिँडें’ उनले माया घरमा बताएअनुसार, ‘झापाको दमका ज्यामी काम गर्ने क्रममा त्यहीँका एक ज्यामीबाट उनको पेटमा बच्चा बस्यो ।’ अवैध रूपमा गर्भ रहेको थाहा भएपछि उनलाई त्यहाँबाट पनि निकालियो । विरक्तिएर उनी इटहरी आएकी रहिछन् । केही समय सडकमै बास बसेकी ताराकी छोरी माया घरकी प्यारी छोरी बनेकी छन् । माया घरमा आएको २२ दिनमा उनले छोरीलाई जन्म दिइन् । छोरीको बाबु को हो भन्ने पहिचान छैन भने आफन्तकोमा जाने आधार पनि छैन । उनको घर नै माया घर बनेको छ ।

घटना २ः दुई वर्ष अघिसम्म धरानका सडकमा चहार्दै हिँड्ने निशा राईको जीवनमा पनि अहिले कायापलट भएको छ । अन्दाजी २५ वर्षीया निशालाई धरानमा उनलाई प्रायःले चिन्थे । ‘बहुलाई’ उपनाम पाएकी निशालाई देख्नासाथ प्रायः घरका गेट बन्द हुन्थे । मानसिक समस्याका कारण जथाभावी बोल्ने र खानको लागि ढोका ढक्ढकाउने निशालाई माया घरले उद्धार मात्रै गरेन, नयाँ जीवन नै दिएको छ । उनी अहिले बत्ती कात्नेदेखि सीपमूलक तालिमसमेत लिन सक्षम भएकी छन् । ०७४ सालको तीजको व्रत लिने दिन उनलाई महिला सञ्जाल धरानले उद्धार गरी माया घरको जिम्मा लगाएको हो । औषधि उपचारको क्रममा निशाका आफन्त कोही नभएको र एसओएस बालग्राम इटहरीमै बस्दै गर्दा त्यहाँबाट हिँडेको खुलेको छ । महिला सञ्जाल धरानले उनलाई सडकबाटै सामान्य उपचार गरी माया घरलाई जिम्मा लगाएको थियो । ‘त्यस्तो अवस्थाबाट यहाँ आइपुगेँ, अब माया घरमै सेवा गरेर बस्छु’ –निशाले भनिन् । उनी माया घरमा आश्रितहरूलाई नुहाउनेदेखि कपाल कोरिदिने काममा जाँगर लगाउँछिन् ।

घटना ३ः २०७५ फागुन १५ गते जिल्ला प्रहरी कार्यालय इनरुवा र सेफ हाउसको सिफारिसमा माया घरमा ल्याइएकी बबिता भूजेल पनि मानसिक रोगी हुन् । उनलाई पनि माया घरमा संरक्षणको लागि राखिएको छ । आफन्त कोही नभएकालाई संरक्षण दिने माया घरले उनको आफन्तको खोजी गरिरहेकै छ । उनी आफू बबिता भूजेल र पश्चिम नेपाल घर बताउँछिन् । विभिन्न सामाजिक सञ्जालमा सूचना गरे पनि उनको आफन्त पत्ता लागेका छैनन् । उनको उपचार र आश्रय मायाले नै गर्दै आएको छ ।
घटना ४ः प्रायः इटहरीका व्यापारी र बटुवासँग खानेकुरा र पैसा माग्दै हिँड्ने सञ्जु सरदार आफूले भनेको कुरा नपाए बटुवासँग जाइलाग्थिन् । सडकमै रात बिताउने १५ वर्षीया सञ्जुले मागेको कुरा नपाउँदा दिने दुःख प्रायः इटहरीका व्यापारीले भोगेका छन् । उनलाई इटहरी प्रहरीले पटक–पटक नियन्त्रणमा लिन्थ्यो । सम्झाइ बुझाइ गरेर छाडे पनि उनको दैनिकीमा परिवर्तन आएन । आफन्तको माया नपाएकी र सौतेनी आमाले घरबाट निकालेको बताउने उनी मानसिक रूपमा विक्षिप्त भएकी थिइन् । अहिले सञ्जुमा ठूलो परिवर्तन आएको छ । इटहरी प्रहरीले नै उनलाई माया घरको जिम्मा लगाएको हो । माया घरको मायाले उनलाई अहिले आफन्त भुलाएको छ । कसैले घर जाने होइन भन्दा उनी नराम्रोसँग रिसाउँछिन् । उनी यही माया घरमा नै रमाउँदै बसे पनि उनका आफन्तको खोजी गर्ने कार्य जारी रहेको सचिव शुभद्रा प्याकुरेल सुवेदीले बताइन् ।

घटना ५ः नाम बताउन नसक्ने पातलो जिउ भएकी एक महिला पनि माया घरमा बस्छिन् । उनको नाम सरस्वती राखिएको छ । उनी इसारामै हाँस्ने, रुने, अरूलाई माया गर्ने गर्छिन् । उनलाई सबैले पातली आमा भनेर बोलाउँछन् । विवाह भएको र बच्चा जन्मने बिराम लागेपछि उनलाई उनका परिवारलाई विराटनगरको कोशी अस्पतालमा अलपत्र छाडे । बच्चा पनि खेर गएपछि राम्ररी उठ्नसमेत नसक्ने अवस्थामा उनलाई विराटनगर प्रहरीले माया घरको जिम्मा लगाएको हो । पर्याप्त पोषण नहुँदा बच्चाको राम्ररी विकास नभएको र केही दिनको बसाइपछि उनलाई प्रहरी र अस्पताल प्रशासनले नै संरक्षणको आग्रह गर्दै माया घरमा ल्याएर जिम्मा लगाएको हो । उनका आफन्त पत्ता लाग्न सकेका छैनन् । अहिले उनको स्वास्थ्यमा सुधार आएको छ । उनी माया घरमा सबैसँग मिलेर बेसेकी छन् ।

यी त उदाहरण मात्र हुन् । स्थापना भएको दुई वर्ष नपुग्दै इटहरी–२ आयुर्वेदिक टोलमा महिलाहरूको पहल र अगुवाइमा सञ्चालित माया घरले दुई सय बढी मानसिक रोगी तथा हिंसा पीडितको उद्धार तथा पुनस्र्थापना गरिसकेको छ । अहिले पनि माया घर नेपालमा ५० जनाभन्दा बढी आश्रित छन् । पाँचजना सुत्केरीको स्याहार माया घरले गर्दै आएको छ । ८० वर्षीया वृद्धादेखि सुत्केरी आमाहरूको स्याहार र दैनिक भोजनको लागि शुभेच्छुककै भर रहेको छ । ‘प्रायः गरेर जन्म दिनमा खाद्यान्न ल्याइदिने र खाना खुवाउनेहरूको उपस्थिति बढेको छ’ माया घर नेपालकी अध्यक्ष राधिका दासीले भनिन् ‘दैनिक गुजारा चलाउने मुख्य स्रोत नै यही हो ।’ त्यसका साथै मुठ्ठी दान र खुत्रुके दानबाट पनि केही आम्दानी हुन थालेको उनले बताइन् ।

मानसिक स्वास्थ्यमा समस्या भएका तथा पारिवारिक समस्याका कारण घरपरिवार छाडी, सडकमा पुगेका र समाजबाटै अपहेलित भएका एवम् हिंसा पीडितहरूको उद्धार तथा पुनस्र्थापनाको लागि माया घर नेपाल स्थापना गरिएको हो । इटहरीका सक्रिय महिलाको प्रयासमा सञ्चालनमा आएको माया घरले योजना देखाएर आठ कठ्ठाभन्दा बढी जग्गा प्राप्त ग¥यो । जसमध्ये आधा जग्गा दान स्वरूप प्राप्त भयो भने आधा जग्गा पुराण लगाएर सङ्कलन भएको रकमबाट संस्थाले खरिद ग¥यो । माया घरले पुनस्र्थापना गरेका एक सयभन्दा बढीको परिवारमा पुनर्मिलन गराएको संस्थाले जनाएको छ । विशेषतः स्थानीयवासी र इटहरीका सक्रिय महिलाको प्रयासमा स्थापना भएको माया घर प्रदेश १ मै नमुना संस्थाका रूपमा स्थापना भएको सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताए । उनको मन्त्रालयले गतवर्ष जग्गा कम्पाउण्ड वालको लागि रकम विनियोजन समेत गरेको थियो ।

maya-ghar1

कसरी शुरु भयो माया घर ?
पत्रकारिता गर्दै आएकी शुभद्रा प्याकुरेल (सुवेदी) ले २०७३ सालतिर इटहरीमा भागवत् कथा गर्दै गरेकी राधिका दासीलाई भेटिन् । उनको अन्तरवार्ता गरी आफ्नो पत्रिका प्रकाशित गरिन् । सामाजिक क्षेत्रमा केही गरौं भन्ने भावना मिलेपछि उनीहरूकै पहलमा इटहरीका सामाजिक क्षेत्रका महिलाहरूसँग छलफल भयो । कसरी शुरु गर्ने अभियान ? के काम गर्ने ? भन्ने विषयमा छलफल हुँदा मानसिक रोगी र हिंसा पीडितको उद्धार र संरक्षणमा सामाजिक सेवा गर्ने उद्देश्यमा सहभागी महिलाको मत मिल्यो । अभियानमा राधिका थापा, शान्ता न्यौपाने, अञ्जु आचार्य, सुशीला आचार्य, सुमी थापा, रीता मिश्र, अजिता सुवेदीलगायतका डेढ दर्जन महिला जोडिए । त्यसमध्ये शुभद्रा र राधिकाले इटहरी–२ मा खरिद गरेको तीन कठ्ठा जग्गामा सो संस्था स्थापना गर्ने योजना बन्यो ।

पूर्वाधार निर्माणको लागि रकम जुटाउन २०७४ पुस महिनामा पुराण आयोजना गरियो । अभियानमा जोडिएका प्रायःले एक लाख रुपैयाँको हाराहारीमा दान दिए । अभियानको नेतृत्व गरेकी राधिका दासीले कथा गरिन् । आफू पनि विवाहपछि पाएको घरपरिवारको पीडाको कुरा पनि कथामा जोड्दै गइन् । भावी योजनाका बारेमा बताउँदै गर्दा स्थानीयवासी थप जग्गा दिन तयार भए । स्वर्गीय टीकाप्रसाद सुवेदीको स्मृतिमा उनको परिवारले एक कठ्ठा जग्गा प्रदान गरे । सँगै रहेको बाँकी सवा ६ कठ्ठामध्येबाट बद्रीप्रसाद सुवेदीले किनि दिए । त्यसबाहेक स्थानीयले घरलौरी रकम जम्मा गरेर महिलालाई सहयोग गरे । झण्डै चार कठ्ठा जग्गा पुराण लगाएकै बेला निःशुल्क जुटेपछि झण्डै सात कठ्ठा जग्गा माया घरले आफ्नो बनायो । अहिले माया घरमा झण्डै आठ कठ्ठा जग्गा छ ।

राधिका थापाले दिने भनेको जग्गामा भनेपछि आफू दिन नसक्ने भन्दै फिर्ता लिइन् जग्गा फिर्ता लिए पनि आर्थिक सहयोगसमेत गरेकी थापा सक्रिय रूपमा सेवामा लागेकी छिन् । यता त्यसै बेलादेखि सडकमा बेवारिसेहरूको उद्धारको लागि महिलाहरूले व्यक्तिगत खर्चमा कोठा भाडा लिएर सेवा गर्नुका साथै उपचारसमेत गराउँदै आएका थिए । पुराणमा बोलेको सम्पूर्ण रकम सङ्कलन हुन नसक्दा संस्थालाई आर्थिक समस्या पर्र्दै आएको अध्यक्ष दासीले बताइन् । २०४५ सालमा मोरङको बयरवनमा जन्मिएकी प्रीमा नेपाल अर्थात् हालकी प्रख्यात भागवत वाचिका राधिका दासीजीको पहिचान पनि माया घरले फेरिएको छ । उनी जहाँ पुराण भन्न जान्छिन् माया घरको माया सबै भक्तजनलाई दर्शाउँछिन् । सामाजिक सेवा गर्न सबैलाई प्रेरित गर्छिन् । सचिव शुभद्रा प्याकुरेललगायतले माया घरमा आश्रितलाई निरन्तर सेवा गर्दै आएका छन् ।

के हो माया घर ?
महिलाको नेतृत्व र प्रयासमा स्थापित माया घर हिंसा पीडितहरूको संरक्षण गर्दै समाजमा स्थापित गराउनको गत पुस महिनामा श्रीमद् भागवत सप्ताह लगाई सोबाट सङ्कलित रकम र जग्गाबाट शुरु भएको संस्था हो । ‘जसको कोही छैन हजुर उसकै माया घर’ भन्ने मूल नारासहित स्थापना भएको सो संस्थाले दाताहरूको सहयोगमा माया घरले इटहरी–२ सरकारी निकायबाट सहयोग बिनै माया घरले आधा दर्जन बढी हिंसा पीडितहरूको संरक्षणको पहल गरिसकेको थियो । अध्यक्ष राधिका दासीसहित इटहरीका विभिन्न क्षेत्रका महिलाहरूको अगुवाइमा सो संस्था स्थापित हुँदै आएको छ ।

माया घरका चुनौती
जन्म दिनको उत्सव र पितृहरूको स्मरणमा प्राप्त अन्नबाट अहिले माया घरमा आश्रितहरूको जीवनयापन चलिरहेको छ । त्यसबाट अपुग पैसा समितिले अन्य दाताको सहयोग र ऋण काढेरै व्यवस्था गर्दै आएको छ । दैनिक रूपमा मानसिक रोगको औषधि खुवाउनु पर्ने आश्रितको सङ्ख्या पनि झण्डै दुई दर्जनको हाराहारीमा रहेको संस्थाले जनाएको छ ।

५० जनाभन्दा बढीलाई नियमित खाना, छाना र नानाको व्यवस्था गर्दै आएको माया घरका महिलाहरू यतिबेला संस्थाको जग्गा खरिद गर्दा लागेको ऋण तिर्ने र दिगो सञ्चालनका लागि कोष स्थापना गर्ने अभियानमा रहेको अध्यक्ष राधिका दासीले बताइन् । यतिबेला माया घर सञ्चालनका लागि महिलाहरू घर बनाउनेदेखि दैनिक खाना खुवाउने दाता खोज्न व्यस्त छन् । प्रदेश १ मै स्थापित भइसकेको माया घर नेपालमा सिन्धुलीदेखि ताप्लेजुङसम्मका हिंसा पीडित तथा मानसिक रोगी प्रहरीले पठाइदिने गरेको छ । पूर्वाधारमा लायन्स क्लबदेखि स्थानीय तथा सरकारसँग सहयोग माग्ने क्रम जारी छ । सामाजिक अभियानमा हिम्मतिलो अभियान थालेका महिलाहरू दिगो व्यवस्थापनको प्रयासमा रहेका छन् ।

सामाजिक संस्था र व्यक्तिको सहयोगकै भर
संस्थामा नियमित आम्दानीको स्रोत नहुँदा धरान, इटहरी र आसपासका रहेका संस्था तथा व्यक्तिगत सहयोगमै महिलाहरूले माया घर सञ्चालन गर्दै आएका छन् । नपुग रकम महिलाहरूले नै व्यवस्थापन गर्दै आएका छन् । माया घरमा आश्रितहरूलाई व्यवस्थापन गर्न मासिक ४ लाख रुपैयाँ जति खर्च हुने सचिव शुभद्रा प्याकुरेलले बताइन् । औषधि उपचार र विद्यालय जाने उमेरका नानीहरूलाई सहयोग जुटाउन भने महिलाहरूलाई हम्मे हम्मे पर्ने गरेको छ ।

चिने जानेका साथीहरूलाई आग्रह गरेकै भरमा सञ्चालनमा हरेको माया घरले आश्रितहरूलाई सीप प्रदान गर्ने समेत तयारीमा जुटेको छ । महिलाहरूको प्रयासलाई साथ दिँदै विदेशतिर भएका आफन्तले समेत सहयोग गर्न थालेका छन् । ‘तर, पनि हामीलाई धेरैले सहयोग गर्नुभएको छ’ सचिव प्याकुरेलले भनिन्, ‘दिगो आर्थिक स्रोतको खोजीमा छौं ।’ बासस्थानकै समस्या भएपछि संस्थाकै सदस्य सुमी थापाको पहलमा लाइन्स क्लबबाट तीन कोठे भवन निर्माणाधीन क्रममा छ । यसभन्दा अघि नै बनेको ६ कोठे भवनमा अहिले ५० जना खाने बस्ने गर्दै आएका छन् । ओढ्ने ओछ्याउने र खाटसमेत दाताहरूकै सहभागिताबाट जुटेको छ ।

maya-ghar-2 maya-ghar-6 maya-ghar-4 maya-ghar-vvi maya-ghar-3 2 maya-ghar-1 maya-ghar-5 2