यासोक/ पाँचथरको कुम्मायक गाउँपालिका–५ माझी बस्तीका सुकुम्बासी होमप्रसाद माझीलाई वडाले लालपूर्जा दिलाएको छ ।

तेह्रथुमको म्याङलुङ नगरपालिकाको लुमुघाटमा बस्दै आएका सुकुम्बासीलाई वडाले लालपुर्जा दिलाएको हो । वडाध्यक्षसहित ५ जना जनप्रतिनिधिले ५० हजार रकम सङ्कलन गरी कुम्मायक ५ कै तमोर कोरिडोर सडकमा जग्गा खरिद गरी हस्तान्तरण गरेको हो । स्थानीय जग्गादाता ओमाकान्त निरौलाले प्रति रोपनी डेढलाख रुपैयाँ पर्ने जग्गा ५० हजारमा दिएका छन् । सुकुम्बासी माझी परिवारलाई निरौलाले एक रोपनी १३ आना जग्गा दिएका हुन ।

वडाले ५० हजार रकम सङ्कलन गरेको थाहा थियो । मैले पनि निःशुल्क जग्गा दिन खोजेँ तर माझी परिवारले निःशुल्क जग्गा लिन मानेनन् । निरौला भन्छन्, जनप्रतिनिधिले उदारणीय काम गर्दा मैले किन नगर्ने भन्ने लाग्यो तर परिवारले पैसा दिएरै लिने भनेपछि ५० हजारमा जग्गा दिएको हुँ । अहिले तमोर कोरिडोर आसपासमा डेढ लाखदेखि दुई लाख रोपनीमा जग्गा खरिद बिक्री हुने गरेको छ । निरौलाले भने ।

यस अघि उनको परिवार माझी बस्तीमै रहेको सामुदायिक वनको भवनमा आश्रय लिएर बस्दै आएको थियो । तर, त्यही घरलाई पनि निर्माणधीन तमोर कोरिडोर सडकले क्षति पु¥याएपछि तेह्रथुम बस्दै आएका छन् । स्थानीयवासी र वडा कार्यालयले पीडित परिवारलाई क्षतिपूर्ति दिलाउनको लागि लालपुर्जा नभएपछि पीडित परिवारको बिचल्ली भएको थियो ।

‘वर्षौंदेखि खुट्टो टेक्ने ठाउँ थिएन । छिमेकीसँग बस्न निकै गाह्रो थियो । तर, अहिले शिर ठाडो पारेर हिँड्न सहज भएको छ ।’ लालपुर्जा देखाउँदै हर्षित मुद्रा होमप्रसाद माझीले सुनाए । उनी भन्छन्–‘तेह्रथुमको जङ्गलमा रहेको ग्वालीमा बस्दै आएका छौं । छोरा छोरी हुर्काउन र पढाउन अरूकै भर पर्नु पथ्र्यो । तर जनप्रतिनिधि हाम्रो लागि भगवानको रूपमा आएका छन् ।’

लामो समयपछि भूमिहीन अवस्थामा रहेको माझी परिवारले लालपुर्जा पाएपछि कुम्मायक ५ मा भूमिहीनको सङ्ख्या नरहेको वडा कार्यालयले जनाएको छ । स्थानीयतहको निर्वाचनमा माझी समुदायको सुकम्बासीको विषयमा आवाज पनि उठ्दै आएको थियो । त्यस आवाजलाई सम्बोधन गरेको वडा अध्यक्ष यामबहादुर बोहोरा बताउँछन् । बहुचर्चित तमोर कोरिडोर सडकमा माझी परिवारले जग्गा पाएका छन् ।

सडकमै जग्गा भएकाले व्यापार व्यवसाय बाट आम्दानी गर्न सक्ने वडाको विश्वास छ । वडाले पीडित परिवालाई विपन्नको सूचीमा राखी निःशुल्क जस्तापाता समेत वितरण गर्ने तयारी गर्दै आएको छ । उनलाई जनता आवास कार्यक्रममा समेट्ने तयारी गर्दै आएको बोहोराको भनाइ छ । माझीका श्रीमती, ४ छोरा, १ छोरी गरी ७ जनाको परिवार छ ।