लक्ष्मीमार्ग/ कानून, न्याय तथा संसदीय मामिला मन्त्री डाक्टर शिवमाय तुम्बाहाम्फेले सङ्घीयता कार्यान्वयन थप व्यवस्थित गर्न ३ वटै तहबीच समन्वयकारी वातावरणका ऐन निर्माणको क्रम अघि बढेको बताएकी छन् ।

बुधबार सुन्दरहरैँचा–१० स्थित सिद्धार्थ सेकेण्डरी स्कुलको रजत जयन्ती समारोहमा बोल्दै मन्त्री तुम्बाहाम्फेले संविधानले निर्दिष्ट गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्र कार्यान्वयन गर्ने क्रममा रहेकाले विस्तारै व्यवस्थित हुँदै गएको पनि दाबी गरेकी हुन् ।

मन्त्री तुम्बाहाम्फेले सङ्घले प्रदेशको अधिकार खोस्यो भन्ने कुराहरू पनि सुन्ने गरिएको भन्दै सबै तहको अधिकार संविधानको अनुसूचीमा स्पष्ट रहेकाले एकले अर्काको अधिकार खोस्न नसक्ने पनि स्पष्ट पारिन् ।

‘सङ्घ, प्रदेश र स्थानीय तहको अधिकार संविधानको अनुसूचीमा उल्लेख छ’ मन्त्री तुम्बाहाम्फेले भनिन्, ‘संविधानले सुनिश्चित गरेको अधिकार कसैले पनि खोस्न मिल्दैन ।’ अहिले कानून निर्माणको क्रम रहेकाले सङ्घ, प्रदेश र स्थानीय तहले पनि संविधानसँग बाझिने कानून निर्माण गर्न नमिल्ने र गरेमा त्यो निष्क्रिय हुने मन्त्री तुम्बाहाम्फेले बताइन् ।

मौलिक हकसँग सम्बन्धित १६ वटा ऐन निर्माण भइसकेको र अहिले ती ऐनहरूलाई कार्यान्वयन गर्न नियमावली निर्माण गर्ने काम पनि तीव्र गतिमा अघि बढेको मन्त्री तुम्बाहाम्फेले बताइन् ।