धरान/ नेपाली काङ्ग्रेसका उपसभापति विजयकुमार गच्छदारविरुद्ध अख्तियारले मुद्दा दायर गरेको विरोधमा नेपाली काङ्ग्रेसका भातृसङ्गठनहरूले धरानमा मसाल जुलुस प्रदर्शन गरेका छन् ।

बुधबार साँझ धरानको छाताचोकदेखि भानुचोकसम्म प्रदर्शन गरिएको जुलुसमा नेपाल तरुण दल, नेपाल विद्यार्थी सङ्घ, नेपाल महिला सङ्घ, नेपाल दलित सङ्घ र नेपाल मजदुर सङ्घका पदाधिकारी तथा सदस्यहरू सहभागी थिए । जुलुस प्रदर्शनका क्रममा प्रहरीले मसाल खोसेपछि घम्साघम्सी समेत भएको थियो । प्रहरीले मसाल खोसेर नियन्त्रणमा लिएको थियो ।

जुलुसपछि भानुचोकमा आयोजित कोणसभामा बोल्दै नेपाल विद्यार्थी सङ्घ, महेन्द्र बहुमुखी क्याम्पसका सभापति दोर्ची शेर्पाले गच्छदारको गल्ती भेटिए कारबाही गर्न तर नेकपाका नेताहरू माधवकुमार नेपाल र विष्णु पौडेललाई उन्मुक्ति नदिन आग्रह गरे ।

त्यस्तै नेपाल तरुण दल धरान नगरका सभापति हिमाल श्रेष्ठले ओली सरकारले भ्रष्टाचारीलाई लुकाएको आरोप लगाए । उनले नेपाली काङ्ग्रेस विधिको शासनमा चल्ने भन्दै अख्तियार र ओली सरकार नसच्चिए चरणबद्ध आन्दोलनमा उत्रिने बताए ।

कार्यक्रममा नेपाली काङ्ग्रेसका धरान नगर उपसभापति राजेन्द्र राई, सचिव श्याम पोखरेल, नेपाल तरुण दलका क्षेत्रीय कार्यवाहक सभापति सम्पूर्ण ताम्राकार लगायतको उपस्थिति थियो ।

julus1