यासोक/ देशकै ठूलो तमोर लिफ्ट खानेपानी योजनाको काम अन्तिम चरणमा पुगेको छ ।

पाँचथरको कुम्मायक गाउँपालिकामा २०७२ सालदेखि शुरु भएको योजना अन्तिम चरणमा पुगेसँगै फागुन ११ गते उद्घाटन हुन लागेको हो । तमोर खानेपानी आयोजनाको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम तय गरिएको छ ।

काकाकुल अवस्थाको यासोक, रानीगाउँ र स्याबरुम्बालाई २०६६ सालमा सरकारले देशकै पहिलो सुख्खाक्षेत्र घोषणा गरेको थियो । भौगोलिक अवस्थाको अध्ययन र प्राविधिक सर्वेक्षणपछि २०७२ सालमा प्रेरा–स्वामीनारायण जेभीले ठेक्का सम्झौता गरी मुख्य पाइपलाइनको काम गरेको थियो ।

निर्माण कम्पनीले १७ करोड २७ लाख ८८ हजार १ सय ३३ रुपैयाँमा ठेक्का सम्झौता गरी मुख्य पाइपलाइनको काम पूरा गरेको छ । निर्माण कम्पनीले तमोर नदीको पानी सुख्खाक्षेत्रको थामडाँडासम्म १ हजार ४ सय ३० मिटर उचाइमा सफल परीक्षण गरेको छ ।

त्यस्तै योजनाको दोस्रो चरण अन्तर्गत वितरण लाइनको काम २०७३ सालदेखि कन्काई–महादेव खिम्ती–स्वामीनारायण जेभीले गर्दै आएको छ । कुल २१ करोड ४७ लाख ४७ हजार २ सय ३८ रुपैयाँमा ठेक्का सम्झौता गरी वितरण लाइनको काम पूरा गर्न लागेको छ ।

आयोजनाको आधिकारिक २ हजार ७८ घरधुरीमध्ये १८ सय घरधुरीमा मिटर जडान गरी पानी वितरण हुँदै आएको सङ्घीय खानपानी ढल व्यवस्थापन इलामका फिल्ड प्राविधिक ज्ञानु रिजालले बताए । ‘निर्माण कम्पनीले २ सय ७८ घरधुरीमा मिटर जडान गर्न बाँकी छ, त्यो पनि एक हप्ताभित्र पूरा हुन्छ’ –उनले भने । वितरण लाइनको काम निर्माण कम्पनीले २०७६ साल फागुन १४ सम्ममा सम्पन्न गर्नुपर्ने हुन्छ । उपभोक्ता समिति र निर्माण पक्षले योजना सम्पन गर्न अन्तिम तयारी गर्दै आएका छन् ।

उद्घाटन कार्यक्रममा खानेपानी मन्त्री बिना मगर, भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङ, नेकपा संसदीय दलका उपनेता तथा पूर्व सभामुख सुवासचन्द्र नेम्वाङ, प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोलगायतको उपस्थिति रहने तमोर लिफ्ट उपभोक्ता समितिले जनाएको छ ।

उद्घाटन समारोहको तयारीको लागि उपभोक्ता समितिले गृहकार्य शुरु गरेको पूर्वमन्त्री तथा समितिका अध्यक्ष डम्बरसिंह सम्बाहाम्फेले बताए । लिफ्टिङ प्रविधिको ठूलो योजना सफल परीक्षण गरी वितरण शुरु भएको छ । यो अवसरलाई सदुपयोग गर्दै समितिले उद्घाटन कार्यक्रमको आयोजना गर्न लागेको सम्बाहाम्फेले बताए ।