भद्रपुर  । आजबाट झापाको भद्रपुरमा १० औं किरात महोत्सव शुरु हुँदै छ ।
महोत्सव अवधिभर किराँत समुदायका प्रत्येक घर परिवारले घरमा खाना नबनाउने घोषणा गरेका छन् । उनीहरूले आफ्नो कला संस्कृतिको जगेर्नाका निम्ति तथा सामुदायिक भवन सम्पन्न गर्न घरमा खाना नबनाउने जनाएका छन् । झापाको भद्रपुर ८ स्थित किराँत कल्याण समितिद्वारा निर्माण भइरहेको किराँत कल्याण सामुदायिक भवन निर्माण सम्पन्न गर्नका लागि सो क्षेत्रका किरात परिवारले घरमा खाना नबनाउने घोषणा गरेका हुन् ।

महोत्सव समितिले शुक्रबार पत्रकार सम्मेलन गर्दै महोत्सवको तयारीका बारेमा र भवन निर्माण सम्पन्न गर्ने आधारहरू सार्वजनिक गरेका थिए । दुइ कट्टा दुई धुर जग्गा खरिद गरी एक करोड ३० लाख रुपैयाँको लागतमा निर्माणाधीन दुईतले किराँत सामुदायिक भवनलाई निरन्तरता दिएको समितिका सदस्य मनोज सुव्बाले बताए । महोत्सवबाट कला संस्कृतिको जगेर्नासँगै आर्थिक सङ्कलन गरेर बचेको रकमले यो वर्ष भवन सम्पन्न गर्ने उद्देश्य राखेर महोत्सव सञ्चालन गरिएको उनले जनाए । महोत्सवभरि घरमा खाना नबनाई स्टलमा जे पाइन्छ त्यही खान अनुरोध गरिएको छ ।

महोत्सव सञ्चालनका लागि पहिलो चरणमा एक साताको म्याद जिल्ला प्रशासनबाट अनुमति लिएको महोत्सव संयोजक डिगबहादुर लिम्बूले बताए । विगत नौवर्षदेखि मेलाको आयोजना गरी प्रत्येक वर्ष बचेको रकमबाट सामुदायिक भवनमा खर्च गरिरहेको सुब्वाको भनाइ छ । यस वर्षको मेलाबाट करिब चार लाख रुपैयाँ खर्च कटाएर बचत गर्ने लक्ष्य रहेको उनले बताए ।

क्षमता अनुसारको आआफनो सुन धितो राखेर समेत भवन निर्माण कार्यलाई निरन्तरता दिँदै आइरहेको किरात कल्याण समितिकी अध्यक्ष सुमन राई सुब्बाले जनाइन् । भवन निर्माणको लागि सबै क्षेत्रबाट सहयोग गरे पनि रकम अपुग भएकोले घरमा भएको यथाशक्ति सुन धितो राखेर व्याज तिर्दै भवनलाई निरन्तरता दिएको सुब्बाको भनाइ छ । भवन सम्पन्न गर्नका लागि करिब ५ लाख रुपैयाँ लाग्ने उनले बताइन् ।

समितिले भवन निर्माणका लागि प्रत्येक वर्ष किरातहरूको मुख्य चाड उधौलीको अवसर पारेर किरात कोलेनीमा भव्यताका साथ महोत्सव सञ्चालन गर्दै आइरहेको छ । महोत्सवमा जातीय संस्कृति झल्काउँदै किरात जातिका विभिन्न जातीय भेषभूषा, सामाग्री, खानाका परिकार, रोटेपिङ, हाउजी खेललगायत राखिएका छन् । महोत्सव अवधिभर प्रमोद खरेल, धुर्मुस सुन्तलीलगायत स्थानीय तथा राष्ट्रिय कलाकार तथा विद्यालयका बालबालिकाबाट समेत सांस्कृतिक कार्यक्रमको प्रस्तुति रहने मेला आयोजकले जनाएको छ । मेलामा गेट टिकट नभएकाले सबैलाई अवलोकनका लागि अनुरोध गरिएको छ ।