भण्टाबारी । हरिनगर गाउँपालिका १ भुटाहाकी ४ वर्षीया रञ्जना बहरदार स्थानीय चपडाही आधारभूत विद्यालयमा कक्षा १ मा अध्ययनरत छिन् । दुईवर्ष अगाडि नै विद्यालयमा भर्ना भए पनि ८ महिनाअघिसम्म रञ्जना अक्षर चिन्दिनथिन् । १० बजे विद्यालय पुग्निन् र खाजा खाने बेलासम्म पनि उनी विद्यालयमा बस्ने गर्दिनन् । परम्परागतरूपमा पठन–पाठन हुँदै आए पनि रञ्जना शिक्षक–शिक्षिकाले पढाएको नबुझ्दा उनको एकवर्ष त्यतिकै बित्यो । तर, हिजोआज रञ्जना अक्षर चिन्ने मात्रै नभई पढ्ने र लेख्ने पनि गर्छिन् ।

यो आर्थिक वर्षदेखि हरिनगर गाउँपालिकाले गाउँपालिका क्षेत्रका सामुदायिक विद्यालय तथा मदरसाहरूमा मल्टिमिडिया प्रविधिबाट पठन–पाठन शुरु गरेपछि रञ्जनाजस्ता सयौं विद्यार्थीको सिकाइ उपलब्धिमूलक देखिएको छ ।

हरिनगर गाउँपालिकामा रहेका जम्मा २१ वटा विद्यालयमध्ये ६ वटा सामुदायिक तथा ७ वटा मदरसामा मल्टिमिडिया प्रविधिबाट अध्ययन गराउने गरिएको गाउँपालिकाका स्रोतव्यक्ति अजित मलिक बताउँछन् ।

१७ लाख ५० हजार लगानी गरेर चालू आर्थिक वर्षदेखि मल्टिमिडिया प्रविधिबाट पठन–पाठन गराउँदै आएको उनले बताए । बालविकासदेखि कक्षा ८ सम्म पठन–पाठन हुने उक्त विद्यालयमा जम्मा १ सय ९५ जना विद्यार्थी अध्ययनरत छन् । २०३२ सालमा स्थापना भएको चपडाही आधारभूत विद्यालयमा नयाँ प्रविधिबाट अध्ययन गराउँदा उपलब्धिमूलक पाइएको विद्यालयका प्रधानाध्यापक राजुप्रसाद गुप्ताको कथन छ । ‘तीनजना स्थायी, एकजना राहत र अर्को एकजना करार शिक्षक कार्यरत छन्’ उनले भने, ‘विद्यार्थी सङ्ख्याका आधारमा शिक्षक अपुग नै छन् ।

तर, नयाँ प्रविधिले त्यस्तो महसुस हुन दिएको छैन ।’ गाउँपालिकाले लागू गरेको नयाँ प्रविधियुक्त शिक्षा पद्धति उदाहरणीय भएको बताउँदै प्रअ गुप्ताले व्यवस्थित शौचालय निर्माण गर्न र विद्यालयको कम्पाउण्ड घेराबेरा गरिदिन आग्रह गरेका छन् ।

हरिनगर गाउँपालिका वडानम्बर ५ सिसुवा धर्मपुरमा अवस्थित श्री आधारभूत विद्यालयको अवस्था पनि पहिलाको तुलनामा अहिले फेरिएको छ । १ देखि कक्षा ८ सम्म पढाइ हुने उक्त विद्यालयमा नयाँ प्रविधिबाट अध्यापन शुरु भएपछि अवस्था फेरिएको हो । पहिलाको तुलनामा आधारभूत तहका विद्यार्थीलाई बुझाउन सहज भएको विद्यालयका प्रधानाध्यापक सन्तोषकुमार मण्डलको अनुभव छ । २० वर्ष पुरानो शिक्षकको सोच समन्वयको आधारमा परिवर्तन गरिरहँदा केही हदसम्म शिक्षामा परिवर्तन देखिएको स्रोतव्यक्ति मलिक बताउँछन् ।

जग बलियो भएमात्रै घर बलियो हुने भएको हुँदा आफूहरू आधारभूत शिक्षा मजबुत बनाउन लागेको उनको भनाइ छ । केही हदसम्म सुधार भए पनि अझ सुधार गर्न निरन्तर समन्वय र सहकार्य गरिरहने मलिकले बताए । ‘शिक्षकको सहानुभूति, शिक्षक र विद्यार्थीबीच सुमधुर सम्बन्ध तथा समयानुकूल तालिम दिइने हो भने शिक्षा क्षेत्र सुधार गर्न सकिन्छ’–उनले भने ।

चित्र हेर्दै सिक्दै बालबालिका
हरिनगर गाउँपालिका क्षेत्रका विद्यालयहरूको अनुगमनको क्रममा विश्व बैङ्कको आर्थिक सहयोगमा सञ्चालित बुक परियोजना कार्यक्रम प्रभावकारी देखिएको पाइएको छ । सुनसरी र मोरङ जिल्लामा बुक कर्नरको नामले सञ्चालन भइरहेको उक्त परियोजना हरिनगर क्षेत्रमा प्रभावकारी देखिएको हो । सुनसरीमा रहेका ३ सय ६६ विद्यालयहरूमध्ये ३ सय ३७ वटा सामुदायिक विद्यालयमा विश्व बैङ्कको आर्थिक तथा वल्र्ड भिजन नेपालको प्राविधिक सहयोगमा सेभ द अर्थ सुनसरीले उक्त बुक कर्नर नामक परियोजना सञ्चालन गरेको हो । नेपाल सरकारको शिक्षा नीतिअनुसार सामुदायिक विद्यालयको कक्षा १ देखि ३ सम्म उक्त परियोजना सञ्चालन भइरहेको बताइएको छ ।

सुनसरीका १२ वटा र मोरङका १६ वटा स्थानीय तहमा बुक कर्नर नामक परियोजना सञ्चालन भइरहेको वल्र्ड भिजन इण्टरनेसनल नेपालका प्रोजेक्ट म्यानेजर राजकुमार दुलालले बताए । सुनसरीका ३ सय ३७ वटा सामुदायिक विद्यालयले हालसम्म २२ लाख बराबरको ५० विभिन्न प्रकारका किताबहरू किनेको दुलालको भनाइ छ । नेपाल सरकारको सन् २००९ देखिको कार्यक्रम भए पनि २०१८ नोभेम्बर १५ देखि सुनसरी जिल्लामा उक्त परियोजना सञ्चालनमा आएको हो । शुरु–शुरुमा बुक कर्नरका बारेमा बुझाउन समय लागे पनि अहिले विद्यालय आफैले अर्डर गरेर किताब किन्ने गरेको उनको कथन छ । विद्यालयले किताब किन्ने र राख्ने मात्रै नभई विद्यार्थीहरू उपयोगसमेत गर्दै आएका छन् । ‘बालबालिकाहरूमा पहिलाको तुलनामा निकै परिवर्तन आएको छ’ दुलालले भने, ‘शिक्षकको भार घटेको छ, विद्यार्थीहरू रमाई–रमाई पढ्दै छन् र पठन सीप बढेको छ ।’

बुक कर्नर परियोजनाले बच्चाको मनोभावनाअनुसार सिकाउन सहज भएको हरिनगर गाउँपालिकाका स्रोतव्यक्ति मलिकको भनाइ छ । ‘रङ्गीचङ्गी फोटाहरू, कथा, कविता हेर्न र सुन्न पाउँदा विद्यार्थी सिक्न अग्रसर छन्’–उनले भने । बुक कर्नर परियोजना सबै विद्यालयमा लागू गर्दै त्यसको व्यवस्थापन गर्न कक्षागत हिसाबले दराज उपलब्ध गराएको मलिकले बताए । आगामी दिनमा पनि शिक्षा क्षेत्र सुधार गर्न विभिन्न संस्थासँग सहकार्य र समन्वय गरेर थप कार्यक्रम ल्याइने उनले बताए ।

२ वर्ष पूर्वाधार विकासमा लागे पनि अब भने शिक्षा र स्वास्थ्य क्षेत्र सुधारमा गाउँपालिका केन्द्रित भएको हरिनगर गाउँपालिकाकी उपाध्यक्ष रिमझिम भगत बताउँछिन् । शिक्षा क्षेत्रमा सुधारका विभिन्न योजना ल्याउनुका साथै सामुदायिक विद्यालयमा खेलकुद र अतिरिक्त क्रियाकलाप सञ्चालन गरिँदै आएको उनले बताइन् ।