विराटनगर/ प्रदेश १ को नाम ‘लिम्बुवान–किरात’ राख्न माग राख्दै प्रदेशका मुख्यमन्त्री शेरधन राईलाई विभिन्न जातीय सङ्गठनले ज्ञापन–पत्र बुझाएका छन् ।

बहुपहिचानका आधारमा प्रदेशको नाम तोक्नुपर्ने माग राख्दै २१ सङ्गठनहरूले बिहीबार ज्ञापन–पत्र बुझाएका हुन् । प्रदेशको भौगोलिक अवस्था, सामाजिक, सांस्कृतिक पहिचानको आधारमा प्रदेशको नामाकरण गर्नुपर्ने ज्ञापन–पत्रमा उल्लेख गरिएको छ ।

खम्बुवान राष्ट्रिय मोर्चा नेपालले प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीलाई भेटर ज्ञापन–पत्र बुझाएको छ । मोर्चाले ‘लिम्बुवान र किरात खम्बुवान’ प्रदेशको नामाङ्कन गर्नुपर्ने माग राख्दै ज्ञापन–पत्र बुझाएको खम्बुवान राष्ट्रिय मोर्चाका सचिव राजुदेव राईले जानकारी दिए ।

त्यसैगरी संयुक्त लिम्बुवान सङ्घर्ष समिति पाँचथरले पनि विज्ञप्ति जारी गर्दै प्रदेश १ को नाम लिम्बुवान किरात राख्न माग गरेको छ । पल्लो किरात लिम्बुवान र माझकिरात खम्बुवानको क्लष्टर समेटेर प्रादेशिक संरचना बनाइएकाले प्रदेश १ को नाम लिम्बुवान–किरात राखे दुवै भूगोलको ऐतिहासिकता र सामाजिक, सांस्कृतिक मर्मको सम्बोधन हुने विज्ञप्तिमा भनिएको छ ।

यदि प्रदेशको नाम लिम्बुवान–किरात नराखिए सशक्त आन्दोलनमा उत्रिने चेतावनीसमेत दिइएको छ । विज्ञप्तिमा संयुक्त लिम्बुवान सङ्घर्ष समितिमा आबद्ध १५ वटा सङ्घ–संस्था र सङ्गठनका प्रमुख तथा प्रतिनिधिले हस्ताक्षर गरेका छन् ।