भोजपुर । जिल्लाको अरुण गाउँपालिकामा आयोजना गरिएको विराट ज्ञान महायज्ञ तथा अरुण सांस्कृतिक महोत्सव २०७६ मा भक्तजनहरुको भिड लागेको छ ।

गाउँपालीकाकाे केन्द्र प्याउलीमा गत माघ १८ देखि सुरु भएको विराट ज्ञान महायज्ञमा आन्तरिक तथा वाह्य भक्तजनहरुको भीड लागेको हो । महोत्सवमा विभिन्न नि:शुल्क सेवा समेत प्रदान गरिएकाले भक्तजन साथै स्थानिय सेवाग्राहीको पनि बाक्लो उपस्थिती रहेको गाउFपालिका अध्यक्ष गजेन्द्र बहादुर कार्कीले बताए ।

महायज्ञको अवसरमा निःशुल्क सिमकार्ड वितरण, योग सेवा तथा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएकाले महोत्सवमा धार्मिक पर्यटकहरुको भीड लागेको अध्यक्ष कार्कीले जानकारी दिए । महोत्सव गाउँपालिकामा बहु उद्देश्यीय सामुदायिक भवन तथा पाठशाला निर्माण गर्ने उद्देश्यले आयोजना गरिएको हो ।

पाठशाला निर्माणका लागि पौवादुम्मा गाउँपालिकाले १० लाख सहयोगको घोषणा गरेको छ । छिमेकी गाउँपालिकासंगको सम्बन्ध सुमधुर बनाउने उदेश्यले सहयोगको घोषणा गरिएको गाउँपालिका अध्यक्ष किरण राईले बताए ।

विराट ज्ञान महायज्ञमा हिन्दु, किराँत, तथा बौद्ध धर्मका गुरुहरुले प्रवचन दिईरहेको गाउँपालिका उपाध्यक्ष विनिता ढकालले जानकारी दिईन । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले माघ १८ गते उदघाटन गरेकाे महोत्सव माघ २६ गते सम्पन्न हुने आयोजकले जनाएको छ ।