विराटनगर /  १ नम्बर प्रदेश सभाको पहिलो बैठक बसेको बुधबार दुई वर्ष पूरा भएको छ । प्रदेशसभाको पहिलो बैठक २०७४ साल माघ २२ गते बसेको थियो । बुधबारदेखि दुई वर्ष पुरा गरी प्रदेशसभा तेस्रो वर्षमा प्रवेश गरेको हो ।
शुरूका दिनमा प्रदेश १ को प्रदेश सभामा तीव्र गतिमा कानुन निर्माणका कार्यहरु भए । पछिल्लो समयमा भने प्रदेश सभाको बैठक नियमित रुपमा बस्न सकेन । यसबीचमा प्रदेशसभाको चार अधिवेशन सम्पन्न भइसकेको छ । प्रदेशसभाबाट अहिलेसम्म ३९ वटा विधेयकहरु पारित भएका छन् भने चार वटा संशोधन विधेयक पारित भई ४३ वटा कानून बनेका छन् ।
प्रदेश सभाको चौथो बैठकमा मनमोहन प्राविधिक विश्वविद्यालयको सम्वन्ध व्यवस्था गर्न वनेको विधेयक पारित गर्दा प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको बिरोधको विच गरेको थियो । उक्त विधेक विपक्षी दल नेपाली काँग्रेसको बिरोधको बिच पारित भएको थियो ।
यस अवधिमा प्रदेशसभाको बैठकबाट प्रदेश आर्थिक कार्यवधि विधेयक, प्रदेश विनियोजन विधेयक, गाउँ सभा र नगर सभा संचालनको लागि बनेको विधेयक, प्रदेश सभा सचिवालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, सवारी तथा यातायातका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलगायत पारित भएको थियो ।
प्रदेशसमा सचिवालयमा पाँचौं अधिवेशनको पूर्वसन्ध्यामा मंगलबार चार वटा विधेयक दर्ता भएको छ । प्रदेश वन सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेशको वातावरण संरक्षण सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेश निजी तथा साझेदारी फर्म दर्ता सम्वन्धी विधेयक र प्रादेशिक औद्योगिक व्यवसायढ सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ सचिवालयमा दर्ता भएको छ । प्रदेशसभाको पाँचौ अधिवेशन आज बिहीबारबाट सुरु हुँदैछ ।
मोवाइल एप सार्वजनिक
प्रदेश नम्बर १ प्रदेशसभाले मोवाइल एपलगायतको विभिन्न प्रकाशनका सामाग्रीहरू सार्वजानिक गरेको छ ।
प्रदेशसभाको पहिलो बैठक बसेको दुई वर्ष पुरा भएको सन्दर्भमा प्रदेशसभाले बुधबार मोवाइल एप लागायत विभिन्न प्रकाशनहरु सार्वजनिक गरेको हो ।
सूचना प्रविधिको अधिकतम उपयोग गर्दै सबैलाई सूचनाको सहज पहुँच पु¥याउने उद्देश्यले वेबसाइट र मोवाइल एप सञ्चालनमा ल्याइएको बताइएको छ । प्रदेशसभामा एक कार्यक्रम आयोजना गरी सूचना प्रविधि तथा दस्तावेज संरक्षणका दृष्टिले महत्वपूर्ण मानिने अभिलेखहरु प्रकाशनमा ल्याएको हो ।
प्रदेशसभामा सांसदहरुले बोलेका कुराहरु समेटेर पहिलो पटक लिखित अभिलेख (भर्बेटिम) प्रकाशन गरिएको छ । प्रदेशसभाका सभामुख प्रदिपकुमार भण्डारीले १५ सय ७८ पृष्ठको भर्बेटिम औपचारिक कार्यक्रम गरि सार्वजनिक गरेका हुन् ।
प्रदेशसभाको पहिलो बैठकदेखि चौथो बैठकसम्म प्रदेशसभामा सदस्यहरुले बोलेको विषयलाई जस्ताको त्यस्तै शव्दमा उतारेर तयार पारिएको पुस्तकका दुई भोल्युम प्रकाशन गरिएको छ ।
प्रदेशसभाका अहिलेसम्मका गतिविधि, विषयगत समितिहरुका गतिविधि र सचिवालयका गतिविधिहरु समेटेर तयार पारिएको स्मारिका पनि प्रकाशन ल्याएको छ ।
प्रदेशसभाका सदस्यहरुको सम्पूर्ण विवरण तथा अन्य महत्वपूर्ण सूचना समावेश भएको नयाँ वेबसाइट पनि बुधबारबाटै सञ्चालनमा ल्याइएको सभामुख भण्डारीले जानकारी दिए । मोवाइल एपबाट प्रदेशसभा सदस्य तथा आम सर्वसाधारणलाई सूचना प्रवाह गर्न महत्वपूर्ण हुने प्रदेशसभा सचिव गोपाल पराजुलीले जानकारी दिए ।