इनरुवा / यौन दुव्र्यवहारको आरोप लागेका प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी सौरभ राणा उपरको मुद्दामा अनुसन्धानका लागि सुनसरी जिल्ला अदालतले ५ दिनको म्याद दिएको छ ।

एसएसपी राणालाई सरकारी वलिकको कार्यालय इनरुवा मार्फत आज सुनसरी जिल्ला अदालत उपस्थित गराइएको थियो । सरकारी वलिकले १० दिनको म्याद मागेको भए पनि अदालतले ५ दिने म्याद दिएको छ ।

अदालत पुर्याइएका एसएसपी राणा उपरको जबरजस्ती करणीको अभियोगमा प्रहरी अनुसन्धानका लागि जिल्ला न्यायाधिस मणिराम न्यौपानेको इजलासले ५ दिन म्याद थपको आदेश गरेको हो । श्रेस्तेदार नगेन्द्रकेशरी पोखरेलका अनुसार प्रहरी नियन्त्रणमा रहने गरी ५ दिन म्याद थपको आदेश भएको हो ।

म्याद थप गर्नु पूर्व अदालतमा सरकारी वकिल र राणाका तर्फका अधिवक्ताहरुले पक्ष र विपक्षमा म्याद थप गर्ने कि नगर्ने भन्ने विषयमा आ–आफ्नो तर्क राखेका थिए ।

अदालत परिषरबाट बाहिरिदैं गर्दा संक्षिप्त प्रतिकृया दिदैं एसएसपी राणाले आफुमाथि लगाइएको आरोप झुटो भएको बताए । उनले केहिदिन भित्र सबै सत्यतथ्य बाहिर आउनेसमेत बताए ।

म्याद थप पश्चात राणालाई जिल्ला प्रहरी कार्यालय सुनसरी लगिएको छ । राणालाई प्रहरीले भीआइपी कक्षमा राख्दै आएको छ ।
अदालतबाट अघिल्लो दिन पक्राउ आदेश जारी भए पनि एसएसपी राणा स्वयं जिल्ला प्रहरी कार्यालयमा उपस्थित भएका थिए । 

यौन हिंसाको किटानी जोहेरी पश्चात एसएसपी राणालाई गृह मन्त्रालयले शुक्रबारनै निलम्बन गरिसकेको छ । राणा उपर पीडित महिलाले इटहरीको एक होटलमा आफुमाथि जबरजस्ती करणी गरेको आरोपसहित प्रहरीमा उजुरी दिएकी थिइन् ।