इटहरी/ सुनसरीको रामधुनी नगरपालिका वडानम्बर २ स्थित तित्रिवनामा भएको दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् । बिहान करिब ७ बजे भएको दुर्घटना भएको हो ।

चन्द्रगढीबाट काठमाडौंतर्फ जाँदै गरेको बा.५ ख ३१५७ नम्बरको हायस र पोखराबाट काँकडभिट्टातर्फ आउँदै गरेको ना.६ ख ७९५ नम्बरको बस दुर्घटनामा परेको हो । दुर्घटनामा सबैभन्दा बढी क्षति हायसमा भएको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

दुर्घटनामा परी धादिङ बैरेनी–३ का २८ वर्षीय दीपक खड्काको घटनास्थलमै मृत्यु भएको छ । त्यस्तै झापा भद्रपुर–८ घर भई हाल काठमाडौं बस्ने हेमराज कोइराला र उनकी श्रीमती डोलमाया कोइरालाको घटना स्थलमै मृत्यु भएको थियो । त्यस्तै भक्तपुरकी १७ वर्षीया गरिमा गौतम र झापाकै टङ्कप्रसाद काफ्लेको धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय इटहरीका असइ ज्ञानु देउजाले बताए ।

झापा धरमपुर–९ का होम बहादुर दर्जी र झापाकै सावित्रा राई गम्भीर घाइते भएकी छन् । त्यस्तै दुर्घटनामा मोरङ सुन्दरहरैंचा–९ की रविना चौहान, दमक–३ का बमबहादुर बस्नेत, झापा भद्रपुरका विन्यास काफ्ले सामान्य घाइते भएको ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । मोरङका डिल्लीराम बाँस्कोटा, झापाका ताराकुमारी राय र माया काफ्ले सामान्य घाइते भएका छन् ।

त्यस्तै बसका सह–चालक सोलुका केदार बस्नेत, झापाका श्रीकृष्ण चौहान, काठमाडौं अनामनगरका सुधीर श्रेष्ठकी छोरी ७ वर्षीया अग्रता श्रेष्ठ, काठमाडौंकै रमुना श्रेष्ठ सामान्य घाइते भई उपचाररत रहेको ट्राफिक प्रहरी कार्यालय इटहरीका असइ देउजाले जनाएका छन् ।

दुर्घटनाको कारण तीव्र गति
बिहान साढे ७ बजेको थियो । जाडो मौसम भए पनि दुर्घटना भएको क्षेत्रमा त्यति भीडभाड भने थिएन । काठमाडौंबाट आउने र जाने बसहरू बाहेक यो सडकमा धेरै सवारी साधनको आवत–जावत थिएन । बिहानकै समय भएको कारण तित्रिवना नजिकैबाट ठूलो र डरलाग्दो आवाज सुनियो । बाटोमा हिँड्दै गरेका यात्रुहरू एकछिन आत्तिए ।

ठूलो आवाज आएपछि सर्वसाधारणहरू दुर्घटना स्थल तिर दौडिए । हायस गाडी कच्याककुचुक अवस्थामा थियो । गाडीभित्रबाट मृतकहरू निकाल्नसमेत प्रहरीलाई हम्मे–हम्मे परेको थियो । मृतक र घाइतेहरू पछारिएर उतानो परेका थिए ।

१ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालयले दुर्घटनाको कारण तीव्र गति भएको प्रारम्भिक निष्कर्ष निकालेको छ । एसपी भीम दाहालले दुर्घटनाको मुख्य कारण तीव्र गति भएको बताए । बस र हायस दुवै तीव्र गतिमा कुदाएको उनको निष्कर्ष छ ।

‘तर बसभन्दा धेरै स्पिड हायस गाडी थियो’ एसपी दाहालले भने, ‘दुर्घटनाको प्रकृति हेर्दा हायस गाडी धेरै स्पीडजस्तो देखिन्छ ।’ चालक र अगाडि बस्नेसमेत मृतक सबै हायस गाडीकै रहेको एसपी दाहालले बताए । ‘बस आफ्नै साइडमा आए पनि हायसले भने केही साइड छोडेको देखिन्छ’ –एसपी दाहालले भने । दुर्घटनाको विषयमा थप अनुसन्धान गर्ने उनको भनाइ थियो ।

मानवीय लापरबाही धेरै
ट्राफिक प्रहरी कार्यालय प्रदेश नम्बर १ ले सवारी दुर्घटना बढ्नुको मुख्य कारण मानवीय लापरबाही रहेको बताएको छ । धेरैजसो दुर्घटनाको कारण चालकहरूको लापरबाही नै भएको ट्राफिक प्रहरीको निष्कर्ष छ । तर कानून कार्यान्वयन फितलो भएका कारण मनपरी गर्ने प्रवृृत्ति बढ्दै गएपछि दुर्घटनाको सङ्ख्यामा पनि वृृद्धि भएको छ ।

यसरी एकपछि अर्को गर्दै सवारी दुर्घटना वृद्धि हुन थालेपछि प्रदेश ट्राफिक कार्यालयले आफ्नो मातहतका १४ जिल्लामा चेकजाँचमा कडाइ गर्नुका साथै जनचेतना कार्यक्रमलाई निरन्तरता दिइरहेको छ । ट्राफिक प्रहरीले आफ्नो मातहतका निकायमा विभिन्न उपकरण (राडार गन, ब्रेथलाइजर) सहित चेकजाँच गर्ने गरेको र यसबाट दुर्घटना न्यूनीकरण हुने भने पनि दुर्घटनाको सङ्ख्या भने बढिरहेकै छ ।

किन बढ्दै छ सवारी दुर्घटना ?
ट्राफिक प्रहरी कार्यालयकै तथ्याङ्क हेर्ने हो भने पनि पूर्वमा दैनिक एक जनाभन्दा बढी सर्वसाधारणले दुर्घटनाकै कारणबाट ज्यान गुमाइरहेको तथ्याङ्क भेट्न सकिन्छ । दुर्घटनालाई न्यूनीकरण गर्न खोजे पनि दुर्घटनाको सङ्ख्या भने वर्षौंदेखि उस्तै छ ।

आर्थिक वर्षको अहिलेसम्म प्रदेश १ मा मात्र ४ सय २५ वटा दुर्घटना भएको छ । दुर्घटनामा पुस मसान्त सम्म प्रदेशका १ सय ८० जनाको ज्यान सडक दुर्घटनाकै कारण गएको ट्राफिक प्रहरी कार्यालय इटहरीका कृष्ण प्रधानले बताए ।

त्यसमा पनि सानोतिनो दुर्घटना सबैभन्दा बढी सुनसरीमा नै हुने गरेको ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्कले देखाउँछ । दुर्घटना अधिकांश चालकको लापरबाहीको कारण भएको ट्राफिक प्रहरीले दाबी गर्दै आएको छ ।

जरिबानामा छुट्दै अवैध चालक
पाँच सयमा अवैध चालक अनुमति पत्र (लाइसेन्स) नभएकाहरू छुट्ने गरेका छन् । उनीहरूलाई सवारी चलाउन नदिनुको साटो जरिबाना काटेर ५ सयदेखि १ हजार रुपैयाँमा अवैध चालकहरू छुट्ने गरेका हुन् ।

लाइसेन्स नभए पनि सवारी साधन चलाए ट्राफिक प्रहरीले सामान्य जरिबाना तिरेपछि छुट्कारा दिन्छ । यसरी लाइसेन्स नभएका चालक जरिबानामा छुट्दा सवारी दुर्घटना बढेको छ । अदक्ष चालकहरूलाई सडकमा जरिबाना मात्र लिने हो भने दुर्घटना अझै बढ्न जान्छ ।

अदक्ष चालकहरू ट्राफिकले जरिबाना बापत सामान्य चिट काटेपछि पुनः सवारी चलाउन योग्य हुन्छन् । ग्रामीणभेगमा मात्र होइन, राजमार्गमा सवारी चलाउने सवारी चालक पनि ट्राफिकको आँखा छलेर यसरी नै सवारी चलाइरहेका छन् । ट्राफिक प्रहरी कार्यालयका अनुसार पूर्वमा दैनिक एकजनाभन्दा बढी सर्वसाधारणले दुर्घटनाकै कारण ज्यान गुमाइरहेका छन् ।