धरान/ सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रै विवादको चौघेरामा परेको अमेरिकन मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) बारे अध्ययन गर्न कार्यदल गठन भएको छ ।

कार्यदलमा पूर्व प्रधानमन्त्रीसमेत रहेका नेकपाका सचिवालय सदस्य झलनाथ खनालको नेतृत्वमा तीन सदस्यीय समिति बनेको हो । समितिको सदस्यमा भीम रावल र प्रदीपकुमार ज्ञवाली छन् । सदस्यमध्येका रावलले एमसिसीको खुलेरै विरोध गर्दै आइरहेका छन् । नेपालका लागि एमसिसी हितकर नहुने उनको अडान रहेको छ ।

आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालयको बैठकले खनालको नेतृत्वमा समिति गठन गर्दै १० दिनभित्र सचिवालयलाई प्रतिवेदन बुझाउने गरी जिम्मेवारी दिएको हो । कार्यदल गठन गरेको बारे अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आइतबार केन्द्रीय कमिटीको बैठकमा जानकारी गराएका थिए ।

एमसिसीलाई लिएर नेकपाभित्रै विवाद रहेकाले पनि अब के हुने भन्ने विषय सबैका लागि कौतुहल बनेको छ । किनकि समितिको सदस्यमा रहेका रावल यसको विपक्षमा छन् । तर, कार्यदलको नेतृत्व पाएका नेता खनाल भने एमसिसी पारित गरेर जानुपर्ने बताउँदै आइरहेका छन् ।

एमसिसीका विषयमा प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा पनि पक्षमा उभिदै आएका छन् । उनले संसद्बाट एससिसीलाई पास गरेर जानुपर्ने अडान लिएका छन् । एमसिसी सन् २००४ मा तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुसले शुरुवात गरेका हुन् । नेपालमा २०७४ साल भदौ २९ गते नेपाल र एमसिसीबीच सम्झौता भएको थियो । तर, काम अगाडि बढ्न सकेको थिएन ।

एमसिसीले गरिब राष्ट्रहरूलाई अनुदानको रूपमा रकम दिँदै आएको छ । नेपालमा भने अमेरिकी सरकारले ५० करोड डलर र नेपालले १३ करोड डलर समपूरक लगानी गर्नुपर्ने शर्त छ ।