विराटनगर/ विराटनगर–१२ स्थित बखरी आधारभूत विद्यालयको भवन निर्माणको क्रममा कमिसन मागेको आरोपमा एकजना युवा पक्राउ परेका छन् ।

विराटनगर–१२ बखरीका २५ वर्षीय भोला कामत विद्यालयको भवन निर्माणमा कमिसन मागेको आरोपमा आइतबार पक्राउ परेका हुन् । ३५ लाख रुपैयाँ लागतमा बखरी आधारभूत विद्यालयको ४ कोठे भवन गत माघ १७ गतेदेखि निर्माण भइरहेको छ ।

उपभोक्ता समितिमार्फत् निर्माण भएको उक्त विद्यालयको चार कोठे भवन निर्माणमा कामतले विद्यालयका प्रधानाध्यापक गीता खड्कसँग कमिसन मागेको आरोप छ । सङ्घीय मामिला तथा सामान्य मन्त्रालयको तराई मधेश समृद्धि कार्यक्रम अन्तर्गत ३५ लाख रुपैयाँ बजेट विनियोजन भएपछि बखरी आधारभूत विद्यालयको भवन निर्माणमा बजेट छुट्टिएको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्र कामतको उपभोक्ता समिति बनेर उक्त भवन निर्माण शुरु भएको हो । पक्राउ परेका कामतको समूहले विद्यालयको भवन निर्माणमा ठेक्का नपाएको भन्दै उपभोक्ता समितिसँग कमिसन मागेको आरोपमा पक्राउ परेका हुन् । कामतलाई प्रहरीले पक्राउ गरेपछि आइतबार जिल्ला प्रशासन कार्यालय मोरङमा अभद्र मुद्दामा म्याद थप गरी अनुसन्धान शुरु गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिए ।

कामतले यसअघि पनि विकास निर्माणमा धम्की दिँदै कमिसन माग्ने गरेको आरोप छ । बखरी आधारभूत विद्यालयका प्रअ खड्कालाई यसअघि पनि पटक–पटक विद्यालयको ठेक्का दिनुपर्ने भन्दै धम्की दिने गरेको बताइएको छ । प्रअ खड्काले जिल्ला प्रशासन कार्यालय मोरङमा शान्ति सुरक्षाको माग पनि गरेकी छन् । उनले दिएको जाहेरीको आधारमा प्रहरीले कामतलाई पक्राउ गरेको हो । उक्त विद्यालयको ४ कोठे भवन निर्माण कार्य आगामी वैशाख मसान्तसम्ममा सक्ने गरी काम भइरहेको छ ।