दमक/ ६-७ जनाको एउटा समूह, हातमा विभिन्न जडीबुटी, तथा अन्य सामान बोकेर झापाको विभिन्न ठाउँमा पुग्छन् । शिरमा ढाका टोपी, शरीरमा बाहुला नभएको स्विटर, कपडाको पइन्टमा उनीहरूले लगाएको गोल्ड स्टार जुत्ता । अनुहारमा छुस्स दारी । पर्याप्त आराम समेत गर्न नपाएको जस्तो गरिको मलिन आँखा । उनीहरूको यो हुलिया हेर्दा तराईको शहरमा बस्नेले प्रष्टैसँग चिन्छन् यी मानीसहरू पहाडबाट मधेस झरेको भनेर । पश्चिमको हुम्लाबाट पूर्वको झापामा आएका छन् । हुम्ला पहाड हो र झापा तराई । पहाडको उत्पादन लिएर उनीहरू झापा आएका हुन् । उनीहरूले यहाँ गरेको व्यापारले आफ्नो घरमा पारिवार पाल्ने गरेको बताएका छन् ।

‘अहिले आफ्नो गाउँघरमा हिउँले ढाकेर माटो देखिँदैन । घरमा खाने कुरा केही हुन्न । त्यही भएर हामी गाउँका छोरा मानिस जति हिउँदभरि कमाउन परदेशिने गर्दछौँ’ जुम्ला जिल्लाको सिजा गाउँपालिका–६ काँडा गाउँका ५२ वर्षका बिर्खबहादुर बुढाले भने । बिर्खबहादुरको नेतृत्वमा छिमेकी नाताभित्रका नौ जनाको समूह हुम्लादेखि जडिबुटी बिक्री गर्न झापा आइपुगेको छ । उनीहरू झापाको दमक–५ स्थित खाली चौरमा पाल टागेर बसेका छन् । हिउँदको कडाङ्ग्रिने चिसो भुइँमा पराल ओछ्याएर सामान्य कपडा ओडेर रात बिताउँदै आएका छन् ।

‘दिनभरि जडीबुटी बिक्री गर्न गाउँगाउँसम्म पुगिन्छ । साँझ परेपछि सबै भेला हुने गरेका छौँ । सबैले पैसा उठाएर चामल तरकारी किन्ने गरिन्छ ।’ विगत ३० वर्षदेखि यसरी नै बिताउँदै आएको जुम्लाको तीला गापा–२ रारालिहीका नौसेर बुढाले भने ‘हामी सबैको थोरैथोरै पाखो बारी छ । पाखोबारी अहिले बाक्लो हिउँले ढाकिएको छ । हामीले भदौमा नै बारीमा गहुँ, जौ छरिसकेका छाँै । चिसोका कारण अहिले हिउँभित्र नै टुसाउँदै हुन्छ । जब गर्मीले हिउँ पग्लिन्छ अनिमात्र बाहिर निस्कन्छ ।’ एक पटक लगाएको बाली पाक्न नौ महिनासम्म लाग्छ, सोही स्थानका मनबहादुर बुढा बताउँछन् । जुम्लाको चिसो पनि छल्ने एकदुई पैसा पनि कमाइन्छ भनेर झापा झरेको उनीहरूले बताए ।

झोलामा एकसरो कपडा र अली अली जडीबुटी । यसैबाट केही पैसा बचाएर फर्कदा घरमा बुढा आमाबुबा, श्रीमती, छोराछोरीलाई नयाँ कपडा लगिदिने गरेको १८ वर्षे शेर बहादुर बुढाले बताए । ‘अब हामी गर्मी चढेपछि फागुन अन्तिम सातातिरमात्र घर फर्कन्छाँै’ उनीहरूको भनाइ छ । पैसाको अभावले कक्षा ११ पढ्दापढ्दै छोडेर कमाउन हिँडेको उनले बताए । पढ्न मन हुँदा हुँदै पनि व्यापार गर्न तराई झर्नुप¥यो । अब पढेर होइन व्यापार गरेर पैसा कमाउने रहर छ । उनले आफ्नो सपना सुनाए ।

उनीहरूको गाउँमा आलु, गहुँ जौँ मात्र खेती हुन्छ यसले ३ महिना पनि खान पुग्दैन । भदौमा नै गाइवस्तुलाई घाँसको जोहो गरेर तिहार मानेर परदेशिने गरिन्छ । सधैंका वर्षमा भारततिर जाने गरेका उनीहरूले बताए । ‘त्यहाँ(भारतमा) साह्रै धेरै हेप्ने, लुट्ने, कुटपिट समेत गर्ने गरे । त्यहाँको पुलिसले समेत दुःख दिन थाल्यो ।

त्यसैले यस वर्षदेखि हामी नेपालमा नै हिँड्न थालेको हो । ’ बिर्खबहादुरले भने ‘यो हाम्रो पहिलो वर्ष हो । राम्रो भयो भने आगमी वर्षमा समेत नेपालमा नै घुम्ने योजना रहेको छ । ’ उनीहरूले हिमाली जिल्लामा पाइने चिराइतो, शिलाजी, हिङ्ग, जेठी मधु, टिमुर, भेडीको ध्यूदेखि केही औँठी, नेलकट, टीका, धागो, पोते जस्ता वस्तु समेत गाउँ गाउँ घुम्दै बिक्री गर्ने गरेको बताउँछन् । एक जना बराबर ३० देखि ३५ हजार रुपैयाँसम्मको जडीबुटी र सामान उनीहरूसँग छ ।