पथरीशनिश्चरे / नेपालमा यसबेला सबभन्दा बढी लेखिने साहित्यिक सिर्जनाका रूपमा प्रख्यात बन्दै गएको गजल विधाको काठमाडौंमा सम्पन्न २ दिने महोत्सवका सहभागीले ५ बुँदे घोषणा–पत्र जारी गरेका छन् ।
नेपाल प्रज्ञा–प्रतिष्ठानको आयोजना रहेको सो पहिलो गजल महोत्सवमा आयोजकले भन्दा पनि कार्यक्रममा आमन्त्रित सहभागीले घोषणा–पत्र जारी गर्ने नौलो काम गरेका छन् । घोषणा–पत्रमा, गजलको सैद्धान्तिक पक्षलाई आत्मसात गरेर वहर र छन्दको लेखनलाई पनि सम्मान गर्दै नेपाली गजल लेखनको मौलिक पक्षलाई सम्मान गरिएको उल्लेख छ । यसका साथै गजलमा अन्र्तवस्तु र रूप पक्षको सन्तुलन हुनुपर्ने भन्ने कुरालाई अङ्गीकार गर्दै विचार, तर्क र कल्पनाको प्रस्तुति चमत्कारपूर्ण हुनुपर्छ भन्ने कुरामा सभा सहमत छ भनिएको छ । नेपाली गजलको विकास, समृद्धि र सम्मानका निम्ति नेपाल प्रज्ञा प्रतिष्ठानलाई राष्ट्रिय गजल महोत्सव वर्षमा एकपटक आयोजना गर्न अनुरोध गरिएको छ ।

यसका साथै सवा सय वर्षअघि नेपाली गजल लेखन शुरु गर्ने नेपाली गजलका प्रणेता मोतीराम भट्टलाई श्रद्धासुमन अर्पण गर्नुका साथै महोत्सव आयोजनाका लागि प्रतिष्ठानप्रति आभार व्यक्त गरिएको छ । आधुनिक गजलका अगुवा ज्ञानुवाकार पौडेल, डा. घनश्याम न्यौपाने परिश्रमीसहितका अगुवाहरूले घोषणा–पत्रमा हस्ताक्षर गरेका छन् ।

नेपाल प्रज्ञा–प्रतिष्ठानले राष्ट्रिय युवा परिषद्को सहकार्यमा प्रज्ञा प्रतिष्ठानको सभाकक्षमा आयोजना गरेको महोत्सवमा प्रतिष्ठानद्वारा प्रकाशित ‘प्रज्ञा आधुनिक नेपाली गजल’ र ‘प्रज्ञा नेपाली बाल गजल’ को लोकार्पणसमेत भएको थियो । महोत्सवको दोस्रो दिन ‘नेपाली गजलः परम्परा र प्रवृत्ति’ बारे टीकाराम उदासी तथा ‘गजल सिद्धान्त र नेपाली गजलमा वहरको प्रयोग’ बारे डा. घनश्याम न्यौपाने ‘परिश्रमी’ र घनेन्द्र ओझाले गोष्ठीपत्र प्रस्तुत गरेका थिए । अर्को सत्रमा ‘आजको गजल लेखनः चुनौती र दिशा’ विषयमा परिसंवाद भएको थियो ।

महोत्सवका लागि देशभरबाट गजलका अगुवा तथा गजल लेखनका क्रियाशील सर्जकहरूको सहभागिता रहेको थियो । जसका लागि सात प्रदेशका प्रतिनिधि गजलकारले गजल वाचन गरेका थिए । प्रदेश नम्बर १ बाट प्रतिनिधि गजलकारका रूपमा विवशबलिभद्र कोइराला, लोकेन्द्र बञ्जारा, सुरेश सुवेदी, घनश्याम पथिक र मधु केरुङले गजल प्रस्तुत गरे । महोत्सवमा सातै प्रदेशबाट प्रतिप्रदेश पाँच–पाँचजना प्रतिनिधि गजलकारका साथै उपत्यकाबाट समेत सहभागितामा भव्यरूपमा कार्यक्रम भएको प्रतिष्ठानका सदस्य–सचिव प्रा. जगतप्रसाद उपाध्यायले जनाए । उनले विगतमा अन्य संस्थाको समन्वयमा गजल महोत्सव आयोजना गरिएको भए पनि प्रतिष्ठानको आयोजनामा प्रदेशगत आधारमा प्रतिनिधि चयन गरी यस वर्ष पहिलोपटक राष्ट्रियस्तरको महोत्सव आयोजना गरिएको बताए ।