धरान / हाल भइरहेको प्रदेशको नामाकरण सङ्घीयताको मर्मविपरीत भइरहेको भन्दै लिम्बुवान संयुक्त सङ्घर्ष समितिले आपत्ति जनाएको छ ।
समितिले प्रदेश १ को नाम ऐतिहासिक पृष्ठभूमिकाका आधारमा लिम्बुवान–किरात राख्न सुझाव दिएको छ । अन्य प्रदेशको नाम एकात्मकवादी चिन्तनबाटै आएको भन्दै बुधबार विज्ञप्ति जारी गर्दै आपत्ति जनाएको हो ।

प्रदेश १ को भौगोलिक, सामाजिक, सांस्कृतिकलगायतका अवस्थालाई मध्यनजर गर्दै साझा पहिचानको आधारमा ‘लिम्बुवान–किरात’ राख्न सुझाव दिएको हो । लिम्बुवान आन्दोलनले उठाइरहेको मुद्दालाई बेवास्ता नगर्न समेत आग्रह गरेको छ ।

प्रदेश १ को हिउँदे अधिवेशनले प्रदेश १ को नामाकरणको मुद्दा टुङ्ग्याउने तयारी गरिरहेका बेला समितिले विज्ञप्तिमार्फत् प्रदेश सरकारलाई सचेत गराएको हो । सङ्घर्ष समितिमा सत्तारुढ नेकपासम्बद्ध लिम्बुवान राष्ट्रिय मोर्चा, समाजवादी पार्टी, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसम्बद्ध सङ्घीय लिम्बुवान मञ्च नेपाल, सङ्घीय लिम्बुवान पार्टी नेपाल, नेपाली काङ्ग्रेससम्बद्ध लिम्बूहरूको तर्फबाट उत्तमसिंह थाङ्देन, किरात याक्थुङ चुम्लुङ, याक्थुङ युवा मञ्च, लिम्बू विद्यार्थी मञ्च, लिम्बुवान स्प्रिङ आन्दोलन, याक्थुङ लेखक सङ्घ रहेका छन् ।