इटहरी/ नेपाली काङ्ग्रेसका केन्द्रीय समिति सदस्य तथा चर्चित युवा नेता गगनकुमार थापाले केपी ओली नेतृत्वको कम्युनिष्ट सरकारले देशलाई ३० वर्ष पछाडि धकेलेको आरोप लगाएका छन् ।

नेपाली काङ्ग्रेस रामधुनी नगर समितिले बुधबार आयोजना गरेको नगर सम्मेलनको प्रमुख अतिथि रहेका गगनले सरकार कुरा मात्र नगरी काम गर्न सिपालु रहेको बताए । उनले सरकारले जनताको संवैधानिक अधिकार पनि कटौती गरिरहेको बताए । हत्या आरोपीलाई पदमा राखेर कम्युनिष्ट सरकारले न्यायको खिल्ली उडाएको समेत आरोप लगाए । नेपाली काङ्ग्रेसका सुनसरी सभापति राजीव कोइरालाले गगनलाई पार्टीको नेतृत्वमा आउन आग्रहसमेत गरे ।

नेपाली काङ्ग्रेसका आमन्त्रित केन्द्रीय सदस्य नगेन्द्र चौधरीले काङ्ग्रेस फेरि पनि सरकारविरुद्ध आन्दोलनमा उत्रनु पर्ने बाध्यता र देशको आवश्यकता रहेको बताए ।
रामधुनीका नगरसभापति सुदीप अधिकारीको सभापतित्वमा आयोजित कार्यक्रममा नेपाली काङ्ग्रेसका नेता सीताराम मेहता, जिल्ला सचिव केदार भण्डारी, धरान नगरप्रमुख तिलक राई, महिला सङ्घ जिल्ला सभापति विजया कट्वाललगायतका नेताले कम्युनिष्ट सरकारले देशलाई अन्धकारतिर उन्मुख गरेको आरोप लगाएका थिए ।

त्यस्तै सुनसरीकै तरहरामा रहेको एक विद्यालयको कार्यक्रममा बोल्दै शिक्षा क्षेत्रमा सरकार गम्भीर नभएको आरोपसमेत लगाए । २०५१ सालमा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले उद्घाटन गरेको तरहरास्थित बहुभाषी आधारभूत विद्यालयमा पुगेर गगनले सो कुरा बताएका हुन् ।

राई, लिम्बू र तामाङ भाषाको अध्ययन हुँदै आएको थियो । विद्यालयकी प्रधानाध्यापक विद्या राईका अनुसार सरकारको असहयोगका कारण बीचमा मातृभाषा अध्यापन हुन सकेन । अहिले विद्यालयमा १ सय १० जना विद्यार्थी रहेका छन् भने १० जना शिक्षक र कर्मचारी रहेका छन् ।

जन्मदिनमा विद्यालयलाई कम्प्युटर
नेपाली काङ्ग्रेस क्षेत्र नम्बर २ का सभापति तथा इटहरी–२० का वडाध्यक्ष मणिराम श्रेष्ठले आफ्नो जन्मदिनको अवसरमा बहुभाषी आधारभूत विद्यालयलाई २ थान कम्प्युटर दिएका छन् ।

जन्मदिनको अवसर पारेर विद्यालयको उन्नति, प्रगतिसँगै प्राविधिक शिक्षालाई अगाडि बढाउनका लागि कम्प्युटर वितरण गरेको उनले जानकारी दिए । ‘यसअघि विद्यालयमा राजनीतिक खिचातानीका कारण यहाँको शिक्षाको अवस्था सुध्रन सकेन’ उनले भने, ‘आगामी दिनमा यहाँको शिक्षाको अवस्था सुधार गर्नका लागि मेरो योगदान रहनेछ ।’