बिर्तामोड/ बिर्तामोड नगरपालिकाको वडानम्बर ३ मा रहेको प्रस्तावित डोमालाल राजवंशी रङ्गशालाको जग्गा आफ्नो नाममा बनाउने भूमाफियाको षड्यन्त्र असफल भएको तथ्य फेला परेको छ । नेपाल सरकारको भूमि व्यवस्थापन तथा अभिलेख विभाग, भूमिसुधार तथा मालपोत कार्यालय भद्रपुर झापामा रहेको अभिलेखमा निजी गुठी ‘अनारमनी दुर्गा गुठी संस्थान’ को नाममा १२ बिगाहा १ कठ्ठा ७ धुर जग्गा कायम रहेको तथ्य फेला परेको हो ।
विभिन्न ७ वटा कित्तामा रहेको जग्गामध्ये कित्ता नम्बर ११९ को १ बिगाहा १७ कठ्ठा १० धुरमा झलकबहादुर खड्का, कित्ता नम्बर १२१ को २ बिगाहा १० कठ्ठामा झलकबहादुर खड्का क्षेत्री, कित्ता नम्बर १३० को ७ कठ्ठा १२ धुरमा वृषबहादुर मगर र कित्ता नम्बर ७०१ को २ कठ्ठा १० धुरमा झलकबहादुर खड्का मोही रहेको मालपोत कार्यालयको श्रेस्तामा उल्लेख छ । गुठीको जग्गामध्ये ४ बिगाहा १७ कठ्ठा १२ धुरमा मोही कायम रहेको देखिएको छ ।
‘अनारमनी दुर्गा गुठी संस्थान’ को नाममा रहेको कित्ता नम्बर १२० को १ बिगाहा, २ कठ्ठा १० धुर, कित्ता नम्बर १२२ को ३ बिगाहा ४ कठ्ठा १० धुर र कित्ता नम्बर ११८ को २ बिगाहा १६ कठ्ठा १५ धुर गरी ७ बिगाहा ३ कठ्ठा १५ धुर जग्गामा कुनै मोही रहेको छैन । ‘सबै जग्गाको धनीपुर्जा रमेश महर्जनलगायतको नाममा गइसकेको भनेर तथ्यलाई गुमराहमा राख्ने प्रयत्न भइरहेको थियो’ जग्गा संरक्षणका अभियन्ता गणेश पोखरेलले भने, ‘भू–माफियासँग जग्गा किन्नुपर्छ भन्ने अभियान पनि चल्दै थियो, तर यथार्थ अर्कै रहेछ ।’
जग्गाको धनीपुर्जा ‘अनारमनी दुर्गा गुठी संस्थान’ को नाममा छ । मालपोत कार्यालयले जग्गाको श्रेस्ता बचाउ गर्न सहयोग गरेको पाइएको छ । भू–माफियाले उल्लेखित मोहीबाट मोही हक खरिद गर्दा पनि २ बिगाहा ८ कठ्ठा १६ धुर प्राप्त गर्ने तथ्य छ । तर, यो तथ्यलाई अन्यत्र मोड्न केही मान्छे लागेको आरोप उनले लगाए ।
‘जग्गाको संरक्षण गरी रङ्गशाला निर्माणमा यो तथ्यले अवरोध देखिँदैन’ नेपाली काङ्ग्रेस झापा क्षेत्र नम्बर २ का सह–सभापति धर्म लक्सम्बाले भने, ‘यो जग्गामा मोहीको जग्गा दिएर पनि बाँकी रहेको १० बिगाहा १२ कठ्ठा ११ धुरमा रङ्गशाला बनाउन सकिन्छ, त्यसका लागि जग्गाको प्रयोगबारे स्थानीय तहले सक्रियता देखाउन र कानूनी प्रक्रिया पूरा गर्न लाग्नुपर्छ ।’ ‘जग्गा संरक्षणमा कुनै कसर बाँकी राख्ने छैनौं’ बिर्तामोडका उपमेयर पवित्रा महतारा प्रसाईंले भनिन्, ‘अनारमनी दुर्गा गुठी संस्थानको जग्गाको संरक्षण र प्रयोगबारे हामी गम्भीर छौं ।’ उनले यसको सबै अध्ययन र नगरले चाल्नुपर्ने कदमका बारेमा सुझाव दिन विज्ञको रायसमेत लिने बताइन् ।
अदालतले रङ्गशालाको कित्ता नम्बर १२० को एक बिगाहा दुई कठ्ठा १० धुर भनेको जग्गा अनारमनी दुर्गा गुठी संस्थानकै नाममा रहेको पाइएको छ । तर, ८२२ को ६ कठ्ठा, ८२५ को १३ कठ्ठा र ८१५ को ७ कठ्ठा टीकादेवी विमलीको नाममा दर्ता गराउनू भनेर उल्लेख गरेको जग्गाका बारे नगरपालिकाले खोजी गर्न आवश्यक छ । कित्ता नम्बर ८२० को ८ कठ्ठा रमेश महर्जनको नाममा र ८१२ को ७ कठ्ठा सूर्यकुमार विमलीको नाममा खरिद गरेको अदालतको पत्रमा उल्लेख भएकाले सो को पनि खोजी गर्न आवश्यक छ । सूर्य मगर र शान्तिदेवी खड्काका नामबाट मोही खरिद गरेको भनिएको जग्गा र मालपोतमा भएको तथ्याङ्क नमिलेकाले सो को यथार्थ पनि खोज्न आवश्यक देखिएको पोखरेलले बताए ।
‘सरकारी, सार्वजनिक र गुठी जग्गा संरक्षणसम्बन्धी जाँचबुझ आयोगले यो कामलाई निष्कर्षमा पु¥याउने हाम्रो अपेक्षा छ’ झापा ११ फुटबल क्लबका अध्यक्ष जलकुमार गुरुङले भने, ‘यो जग्गामा रङ्गशाला निर्माण गर्नुको बिर्तामोडमा विकल्प छैन ।’
भूमिसुधार ऐन २०२१ को दफा २९ को उपदफा १ मा दैवी विपत्तिमा परी बालीनाली नाश भएमा वा उत्पादन हुन नसकेको खण्डमा बाहेक मोहीले कुत बुझाएन भन्ने कुराको जग्गावालाले उजुरी दिएमा मोहीयानी हक समाप्त हुने उल्लेख छ । यस्तै एक वर्षसम्म खेती नगरेमा वा खेतीमा हेल्चेक्र्याइँ गरेमा समेत मोहीयानी हक समाप्त हुने भूमिसुधार ऐनमा उल्लेख छ । त्यसैले अनारमनी दुर्गा गुठी संस्थानको जग्गामा मोही हकसमेत नरहने तथ्यले देखाएको छ ।
































