विराटनगर/ मोरङको धनपालथान गाउँपालिका – ६ कदमास्थित विराटनगरको लर्डबुद्ध कलेजको बस दुर्घटना भएपछि फरार भएका चालक पक्राउ परेका छन् । विराटनगर १७ का ३८ वर्षिय बस चालक खिलबहादुर खड्कलाई प्रहरीले मोरङको कर्सियाबाट बिहीबार पक्राउ गरेको हो ।

रङ्गेलीबाट विराटनगरतर्फ आउँदै गरेको मे १ ख १४९० नम्बरको कलेज बस बिहीबार विहान कदमाहमा पल्टिएपछि उनी फरार भएका थिए । फरार भएको करिब ३ घण्टा भित्रलाई खड्कालाई प्रहरीले पक्राउ गरेको हो । कर्सिया बजारमा लुकेर बसेको अवस्थामा इप्रका रंगेलीबाट खटिएको प्रहरी टोलीलाई खड्कालाई पक्राउ गरेको छ । प्रहरीले चालकलाई पक्राउ गरि थप अनुसन्धान भइरहेको जनाएको छ ।

दुर्घटनामा परि बसका सह–चालक विराटनगर– १५ का ३२ वर्षिय सानुकुमार साहको उपचारको क्रममा मृत्यु भएको इलका प्रहरी कार्यालय रङ्गेलीका इनिस्पेक्टर लेखनाथ दाहालले जानकारी दिए । सितलहरसँगै लागेको हुस्सुको कारणले कलेजको बस अनयन्त्रित भइ दुर्घटनामा परेको प्रहरीले जनाएको छ । कलेजको बसमा १२ जना विद्यार्थी सवार थिए । चार जना सामान्य घाइते रहेको प्रहरीले जनाएको छ । उनीहरूको उपचार विराटनगरको अस्पतालमा भइरहेको छ ।

https://blastkhabar.com/news/2020/01/23/110985.html