बिर्तामोड । बिद्युत प्राधिकरणले एउटा बिजुलीको पोल ५ फिट पर सार्न आनाकानी गर्दा झापाको बिर्तामोड–खुदुनाबारी सडक खण्ड एकबर्षदेखि सञ्चालन हुन सकेको छैन । सडक नचल्दा सो बाटोबाट यात्रा गर्दै आएका यात्रुले सास्ती ब्यहोर्नु परेको छ ।

स्थानीय नारायणचोकको फुलमति खोलामा बन्दै गरेको कल्भर्टमा पर्ने एउटा पोल बिद्युत प्राधिकरणले सार्न आनाकानी गरेपछि निर्माणमा अवरोध उत्पन्न भएको हो । ठेकेदार संस्था कन्चनजङघा–शेर्पा जेभीले ८ करोड ९८ लाख १९ हजारको बजेटमा कल्भर्ट र ९ किलोमिटर सडक निर्माण शुरु गरेपनि बिद्युतको पोलका कारण काम अवरुद्ध भएको जनाएको छ । ‘बिद्युतको पोलले असर नपर्ने स्थानमा काम सकिसकेका छौं, निर्माण कम्पनिका सञ्चालक फुर्तेम्बा शेर्पाले भने–‘एउटा पोल हटाइदिन बिद्युत प्राधिकरणलाई पटक–पटक अनुरोध गर्दापनि नमानेपछि काम स्थगित गरेका हौं ।’ उनले निर्माणका लागि ल्याएको उपकरण लामो समयसम्म राख्दा लागत बढेर घाटा हुने अवस्था आएको बताए ।

फुलमति खोलामा निर्माणधिन कल्भर्ट पुरा नभएपछि ठेकेदार संस्थाले डाइभर्सन बनाएको थियो । तर, खोलाको पानी ठुलो भएका कारण खासगरी साना सवारी साधनलाई सो मार्ग प्रयोग गर्न असहज हुने गरेको सोही बाटोबाट नियमित यात्रा गर्ने दिपक दुलाल बताउँछन् । ‘मोटरसाइकल र साना कार, भेनले डाइभर्सनबाट निक्कै मुस्किलले खोला तर्ने गरेका छन्, दुलालले भने–‘पानीको बहाव बढेको समयमा खोलाले गाडी लडाउने गरेको छ ।’

नेपाल बिद्युत प्राधिकरण बिर्तामोड प्रमुख बिरेन्द्र कुमार झाले एकसाताभित्रमा बिद्युतको पोल त्यहाँबाट हटाउने बताए । ‘नगरपालिकामा बसेर सहमति गरेका छौं, झाले भने–‘ अबको एक साताबाट पोल हटाएर काम गर्न सहज बनाउँछौं ।’ उनले ११ हजार केभीएभन्दा थोरै बिद्युत भएको पोल हटाउन प्राधिकरणको प्रदेश तथा सो भन्दा ठुलो पोल हटाउन प्रबन्धकबाट अनुमति लिनुपर्ने प्रक्रिया रहेको जानकारी दिए ।

जानकारका अनुसार बिद्युतको एउटा पोल सार्नका लागि २२ हजारभन्दा कम खर्च आउने गर्छ । सो रकम कसले तिर्ने भनेर टुङगो नभएका कारण एकबर्ष सम्म कल्भर्ट निर्माण पुरा हुन नसकेको हो । अहिले आएर नगरपालिकाको दवावमा प्राधिकरणले पोल सार्न लागेको बताइएको छ । सडक सञ्चालन नहुँदा कतिपय साना सवारी साधनले लामो तथा बैकल्पिक सडक उपयोग गर्दै आएका छन् । बिर्तामोडबाट खुदुनावारीहुँदै इलामसम्म जाने सडकको सो कल्भर्ट समयमा नबन्दा यात्रुले सास्ती ब्यहोर्नुपरेको छ ।