इटहरी/ व्यापारिक मार्ग विस्तार आयोजना अन्तर्गत चीन र भारतसँगको सोझो ‘लिङ्क’ रोडको रूपमा विराटनगर–धरान सडक–खण्ड निर्माण कार्य सुस्त गतिमा अगाडि बढेको भन्दै प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले चाँडो निर्माण गर्न निर्देशन दिएका छन् ।
इटहरी बजारक्षेत्रमा सडकले लिने जग्गा ‘क्लियर’ नभएको भन्दै हालसम्म इटहरीमा विवाद नटुङ्गिदा ६ लेन सडक निर्माण सुस्त भइरहेको भन्दै आलोचना हुन थालेको छ । इटहरी चौकमा बाटो दुईपट्टि नै भत्काए पनि निर्माण कार्य चाँडो नहुँदा इटहरीको मुख्य बजार अस्त–व्यस्त हुन पुगेको छ । महँगो भाडा लिएर व्यापार गर्दै आएका व्यापारीहरू समस्यामा परेका छन् ।
इटहरी चौकका व्यापारीहरूको व्यापार अहिले चौपट भएको इटहरीका व्यापारी शङ्कर अग्रवालले बताए । एकै पटक दुई तिरको नै सडक भत्काएर मुख्य बजार अस्त–व्यस्त बनाएको उनको आरोप छ । एकातिर काम सकेर अर्कोतिर काम गर्नुपथ्र्यो तर दुवैतिर भत्काएर सुस्त गतिमा काम गर्दा व्यापारीहरूको बेहाल भएको उनको तर्क छ । ‘निर्माणाधीन काम तत्काल सक्नुप¥यो व्यापारीहरू समस्यामा परेका छन्’ –उनले थपे ।
६ लेन सडक निर्माणको काम ढिलो भएको इटहरीका सडक सङ्घर्ष समितिका संयोजक मदन चूडालले बताए । चूडालले इटहरीमा मात्र नभई ६ लेन सडकको लापरबाहीकै कारण समग्र जनताले यात्रा गर्दा दुःख पाएको बताए । ‘अहिले सडक निर्माण कार्यको विषयमा ६ लेन सडकमा गम्भीर लापरबाही भइरहेको छ’ –उनले भने । उनले मनपरी मापदण्डमा निर्माण भएको ६ लेन सडकको विषयमा गम्भीर बन्न सम्बन्धित निकायलाई आग्रहसमेत गरे ।
यता काम गर्न ढिलाइ भएको भन्दै ६ लेन सडक विस्तारको कामलाई रफ्तारमा लैजान १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले ६ लेन सडक आयोजना प्रमुखलाई निर्देशन दिएका छन् । काममा ढिलासुस्ती भएको भन्दै गुनासो बढ्दै गएकोले सडक निर्माणको काममा खेलाँची नगर्न आयोजना प्रमुख बद्री शर्मालाई निर्देशन दिएका हुन् ।
पछिल्लो समय ६ लेन सडक निर्माणमा लापरबाही भएको जनगुनासो बढेको मुख्यमन्त्री राईले जनतासँग मुख्यमन्त्री कार्यक्रममार्फत् बताएका हुन् । उनले सडकको विषयमा गम्भीर बन्न निर्देशन दिए । जनताहरू ६ लेन सडकप्रति असन्तुष्ट बन्दै गएको भन्दै चाँडो काम गर्न निर्देशन दिएका हुन् । अस्त–व्यस्त सडकले सर्वसाधारण मारमा परेको मुख्यमन्त्री राईको भनाइ थियो ।
यता ६ लेन सडक विस्तार आयोजनाको प्रमुख बद्री शर्माले भने ६ लेन सडकको सम्पूर्ण साइडहरू क्लियर नभएको कारण समस्यामा परेको बताए । खण्ड–खण्डमा मात्र ठेक्का लागेको कारण सडकको प्रगति राम्रो नभएको उनको तर्क थियो । अहिलेसम्म ३४ किलोमिटर सडकको ठेक्का लागेको बताए । ७ वर्षअगाडि शुरु भएको काम अहिले सम्म ३४ किलोमिटरमा मात्र ठेक्का लागेको छ ।
इटहरीमा केही समय अवरोध भएको कारण पनि ढिलाइ भएको स्वीकार गरेका छन् । व्यापारिक मार्ग विस्तार आयोजनाअन्तर्गत कोशी राजमार्गमा ४९ किलोमिटर सडकमध्ये विराटनगरको रानीबाट इटहरीको तरहरासम्म निर्माणाधीन छ । इटहरी बजारको चौरास्ता चोकभन्दा उत्तरतर्फ अहिले सडकको सेण्टरबाट साढे २० मिटर दायाँ–बायाँ विस्तार भइरहेको छ ।
२०६९/७० बाट शुरु भएर सात वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिए पनि सडक विस्तार कार्य कहिले टुङ्गिने हो, त्यो अहिलेसम्म एकिन हुन सकेको छैन । पूरै सडक निर्माण गर्दा शुरुमा १० अर्ब ९८ करोड लागत अनुमान गरिएकोमा अहिलेसम्म निर्माणाधीन सडक सात अर्ब ५३ करोड १० लाखमा ठेक्का लागेको छ । विराटनगर–इटहरी सडक–खण्डको दुहबी बजार क्षेत्रमा दुई किलोमिटर ठेक्का लाग्न नै बाँकी छ । तरहरादेखि धरानसम्म १५ किलोमिटर सडक पनि कहिले ठेक्का लाग्ने भन्ने टुङ्गो लागिसकेको छैन ।
दुहबीमा सरकारले २०५४ सालमै ६ सय ३० मिटर क्षेत्रलाई बिल्ट–अप क्षेत्रको रूपमा कायम गर्ने निर्णय गरेको थियो । त्यतिबेला २०५४ चैत ३ गते राजपत्रमा प्रकाशित सूचनाअनुसार दुहबी बजारक्षेत्रमा केन्द्र रेखादेखि बायाँ–बायाँ दुवैतर्फ २७–२७ फिटमात्र सडक कायम गरिएको थियो । त्यहाँ पुरानो सरकारको निर्णयलाई अहिलेको सरकारले परिवर्तन गर्दा मात्र सडक विस्तार सम्भव छ ।
इटहरीदेखि दक्षिण साढे ५ किलोमिटर टेङ्ग्रा खोला व्यवस्थापन गर्नसमेत समस्या भएको छ । टेण्डर भएको सडक निर्माणमा विद्युत् पोल बाधक रहेको भन्दै ठेकेदार र कर्मचारी पछि हट्दै आएका छन् तर उक्त विद्युत् पोल त्यही ठेकेदारले सारेर काम अघि बढाउनुपर्ने ठेक्का सम्झौतामा उल्लेख छ ।































