धरान/सातौं युनाइटेड गोर्खा एकेडेमी भलिबल कपको उपाधि छात्रातर्फ इटहरीको ज्ञानदर्पण एकेडेमी र छात्रको पुलिस स्कुलले जितेको छ ।

सोमबार उपाधि रक्षा गरेका ज्ञानदर्पण र पुलिसले जनही नगद १७ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाण–पत्र पाए । ज्ञानदर्पणले आयोजक युजिए ‘ए’ लाई ३–० को सेटमा पराजित गरेको छ । उसले २५–१८, २५–१९ र २५–१८ को सोझो सेटमा हराएको हो । छात्रमा पुलिसले समिट स्कुललाई ३–१ को सेटमा पराजित गरेको हो । उसले पहिलो, तेस्रो र चौथो सेट जित्दा दोस्रो सेटमा २० अङ्कमात्रै जोडेको थियो ।

उपविजेता बनेका छात्रछात्रा टिमले नै नगद १४ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाण–पत्र पाए । छात्रबाट व्यक्तिगत टाइटलमा बालविकासका आयुस राई बेष्ट सर्भिस, पुलिसका बिपुल भट्टराई बेष्ट डिफेन्स, समिटका विश्व उदास बेष्ट लिफ्टर, पुलिसका विवेक चौधरी बेष्ट स्पाइकर, युजिएका एलिस लिम्बू बेष्ट बलर र समिटका करण पालिखे बेष्ट प्लेयर घोषित भए भने फेयर प्लेटिम युजिए ‘ए’ घोषित भएको छ ।

छात्रामा युजिएकी कञ्चन तामाङ बेष्ट सर्भिस, सेक्रेट हार्टकी विसिका मगर बेष्ट डिफेन्स, युजिएकी स्नेहा देवान बेष्ट लिफ्टर, युजिएकै आसिका राई बेष्ट स्पाइकर र युजिएकै वर्षा राई वेष्ट प्लेयर घोषित भइन् । फेयर प्ले टिम छात्रामा सेक्रेट हार्ट घोषित भएको आयोजक युजिएका प्रिन्सिपल पेम्बा शेर्पाले जानकारी दिए ।

उनीहरूले जनही नगद १ हजार २ सय रुपैयाँसहित मेडल र प्रमाण–पत्र पाए । तेस्रो बन्न सफल छात्रामा सेक्रेटहार्ट र छात्रमा बालविकासले समेत नगद १२ हजार रुपैयाँसहित प्रमाण पत्र पाएका छन् । विजेता टिमहरूलाई एनप्याब्सनका प्रदेश १ अध्यक्ष जयबहादुर श्रेष्ठ, एनप्याब्सन जिल्ला अध्यक्ष नारायण सञ्जेल, एनप्याब्सन नगर अध्यक्ष भगत लिम्बू, प्याब्सन धरान नगर अध्यक्ष राजकुमार लिम्बू, युजिएका प्रिन्सिपल पेम्बा शेर्पा तथा भाइस प्रिन्सिपल सन्तोष पोखरेललगायतले पुरस्कार वितरण गरेका थिए ।

तस्बिर साैजन्यः मनि चाम्लिङ