धरान / प्रदेशस्तरिय पाँचौ पानवारी भलिबल कप आजदेखि धरान–६ मा शुरु भएको छ । उद्घाटन खेलमा आयोजक सयपत्री बोइज युनियन क्लब (रातो) प्रतियोगिताबाट बाहिरिएको छ । बाँझगरा युवा भलिबल क्लबसँग २–० को सोझो सेटमा आयोजक पराजित भएको हो ।
२५–२३ र २५–२२ को सेटमा आयोजक टिम पराजित भएको हो । खेलको म्यान अफ द म्याच आयोजक टिमका बसन्त राई भए । त्यस्तै सोमबार नै भएको दोस्रो खेलमा एक नं. प्रदेश प्रहरी रानीले विमान टे«डर्स बिर्तामोडलाई २–० को सोझो सेटमा पराजित गरेको छ । रानीले २५–१९ र २५–२२ को अन्तरमा पराजित गरेको थियो । खेलको म्यान अफ द म्याच बिर्तामोडका भुवन क्षेत्री घोषित भए । उनलाई नगद रु २५ सय पुरस्कार प्रदान गरिएको थियो ।
प्रतियोगिताको फाइनल खेल माघ ११ मा हुनेछ भने प्रतियोगिताको विजेताले ७५ हजार नगद र ३५ तोला चाँदीको रनिङ ट्रफि जित्नेछ । त्यस्तै उपविजेतालाई नगद रु ४२ हजार प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई १० हजार र विधागत उत्कृष्टलाई नगद ५ हजार प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रतियोगिताको उद्घाटन सुनसरी १ नं. क्षेत्रका सांसद जयकुमार राईले गरेका थिए । उनले सयपत्री क्लवले नियमित प्रतियोगिता गराएर खेल क्षेत्रमा ठूलो योगदान दिएको बताए ।