धरान / सातौं युनाइटेड गोर्खा एकेडेमी भलिबल कपको क्वार्टर फाइलनको समीकरण पूरा भएको छ ।
शुक्रबार विद्यालयको भलिबल कोर्टमा सम्पन्न खेलमा पुलिस स्कुल, पूर्वाञ्चल स्कुल, बालविकास, ज्ञानदर्पण र प्याराडाइज स्कुल क्वार्टर फाइलनमा प्रवेश गरेका छन् । बिहीबारदेखि प्रतियोगिता शुरु भए पनि शुक्रबार मात्रै खेलको उद्घाटन गरिएको थियो ।

कार्यक्रमको महेन्द्र बहुमुखी क्याम्पस धरानका सहप्राध्यापक हरिप्रसाद दाहालले उद्घाटन गरेका थिए । पुुलिसले तरहरा मोडेल स्कुललाई २–१ को सेटमा हराउन सफल भएको छ । पुलिसले पहिलो सेटमा १८–२५ को हार बेहेरे पनि दोस्रो र तेस्रो सेटमा २५–१८ र २५–१६ अङ्क बनाउँदै जित हासिल ग¥यो ।

दोस्रो खेलमा पूर्वाञ्चलले कार्मेल स्कुललाई २५–१०, र २५–९ को सोझो सेटमा हराएको थियो त्यस्तै बालविकासले युनिक स्कुललाई २५–९, २८–२६ को सोझो सेटमा हराएको हो । त्यस्तै ज्ञानदर्पण स्कुलले जुनियर पाइनियर स्कुललाई २५–५ र २५–११ को सोझो सेटमा पराजित गर्दै क्वार्टरमा प्रवेश गरेको छ । अन्तिम खेलमा प्याराडाइजले मेरील्याण्ड स्कुललाई २५–१२ र २५–६ को सेटमा हराएको छ । प्रतियोगितामा छात्रतर्फ १६ वटा टिम सहभागी थिए भने छात्रामा १५ वटा टिम सहभागी थिए ।

उद्घाटन कार्यक्रममा प्याब्सनका नगर अध्यक्ष राजकुमार लिम्बू, एनप्याब्सनका अध्यक्ष भगत लिम्बूलगायतको उपस्थिति रहेको प्रिन्सिपल पेम्बा शेर्पाले जानकारी दिए । प्रतियोगिताका विजेता छात्रछात्राले नै जनही नगद १७ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाण–पत्र पाउने छन् । त्यस्तै दोस्रो हुने टिमले पनि जनही १४ हजार रुपैयाँ, तेस्रो हुने टिमले जनही नगद १२ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाण–पत्र पाउने आयोजक युनाइटेड गोर्खा एकेडेमीले जनाएको छ ।

त्यस्तै व्यक्तिगततर्फ बेस्ट स्पाइकर, बेस्ट लिफ्टर, बेष्ट सर्भिस, बेस्ट डिफेन्स, बेस्ट लिफ्टर, बेस्ट ब्लकर र बेस्ट प्लेयरले जनही नगद १२ सय रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन् । उद्घाटनको पूर्वसन्धयामा गरिएको रक्तदान कार्यक्रममा ५२ युनिट रगत सङ्कलन भएको छ । नेपाल रेडक्रस सोसाइटी सुनसरीको प्राविधिक सहयोगमा सम्पन्न कार्यक्रमको उद्घाटन रेडक्रसका जिल्ला सभापति उमेश थापाले गरेका थिए ।