धनकुटा / शहीद रामकृष्ण श्रेष्ठ १ नं. प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिता शुक्रबारदेखि धनकुटामा शुरु भएको छ ।
प्रतियोगिताको समुद्घाटन प्रतिनिधि सभाका सदस्य राजेन्द्रकुमार राईले समुद्घाटन गरे । प्रतियोगिताको समुद्घाटन गर्दै राईले नेपालमा फुटबल खेलको ठूलो सम्भावना रहेको बताउँदै अब खेलेर पनि जीवन निर्वाह गर्दै खेलकुद क्षेत्रको माध्यमबाट राष्ट्रको पहिचान स्थापित गर्न सकिने बताए ।

उद्घाटन कार्यक्रममा प्रदेश सभाका सांसद् लीला सुब्बा, जिल्ला समन्वय समितिका प्रमुख टङ्कबहादुर चुवान, धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ, प्रतिष्ठानका सल्लाहकार विजयसन्तोषी राईले शहीद रामकृष्णा श्रेष्ठको योगदानको चर्चा गरेका थिए ।

सो अवसरमा उनीहरूले बलिदानले मुलुकमा लोकतन्त्रको स्थापना भएको उल्लेख गर्दै नेपाललाई खेलकुदकै माध्यमबाट विश्वसामु चिनाउने सकिने सम्भावना रहेको दाबी गरेका छन् । शहीद रामकृष्ण श्रेष्ठ स्मृति प्रतिष्ठानका अध्यक्ष ईश्वरबहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्य प्रतिष्ठानका उपाध्यक्ष सत्यनारायण श्रेष्ठले राखेका थिए भने कार्यक्रमको सञ्चालन समाजसेवी अधिकारकर्मी सुमना तिम्सिनाले गरेका थिए ।

प्रदेशस्तरीय शहीद रामकृष्ण श्रेष्ठ महिला गोल्डकप फुटबल प्रतियोगिताको शुक्रबार सम्पन्न खेलमा धरान महिला फुटबल टिम सुनसरी र मोरङबीच भएको खेलमा मोरङले धरान सुनसरीलाई २ को विरुद्ध ४ गोल गर्दै पराजित गरी मोरङ सेमीफाइनलमा प्रवेश गरेको छ ।

उक्त खेलमा वुमन अफ दी म्याच घोषित भएकी मोरङ ११ की पवित्रा मगरलाई वुमन अफ दी म्याचको प्रायोजक प्याब्सन धनकुटाका निवर्तमान अध्यक्ष ज्ञान बहादुर गुरुङले नगद पुरस्कार प्रमाण–पत्र र मेडल प्रदान गरेका थिए । आज (शनिबार)को पहिलो खेल धनकुटा फुटबल सङ्घ र इलाम ११ बीच र दोस्रो खेल कन्काई नगरपालिका महिला टिम झापा र पाँचथर जिल्ला फुटबल सङ्घबीच हुने १ आयोजकले जनाएको छ ।

प्रदेशस्तरीय महिला फुटबल प्रतियोगितामा धरान महिला फुटबल टिम सुनसरी, मोरङ, कन्काई नगरपालिका महिला टिम झापा, पाँचथर जिल्ला फुटबल सङ्घ, धनकुटा फुटबल सङ्घ, इलाम फुटबल सङ्घ, बसाहा फुटबल टिम उदयपुर र कर्ण सिंह सोनाम फुटबल क्लब ताप्लेजुङ गरी जम्मा ८ जिल्लाका उत्कृष्ट टिमहरूले भाग लिइरहेको धनकुटा फुटबल सङ्घका अध्यक्ष गोविन्द राईले बताए ।
प्रतियोगितामा प्रथम हुनेलाई १ लाख रुपैयाँसहित गोल्ड कप, मेडल, दोस्रो हुनेलाई ५० हजार रुपैयाँ र गोल्ड कप, मेडलसहित पुरस्कार दिइने र प्रत्येक खेलमा वुमन अफ दी म्याचलगायत विषयगत पुरस्कारमा नगद पुरस्कार मेडल तथा प्रमाण–पत्र दिइने बताइएको छ ।