पथरीशनिश्चरे  / वर्तमान प्रतिनिधिसभाका उपसभामुख शिवमाया तुम्वाहाम्फेलाई उपसभामुखबाट हटाइनु अन्यायपूर्ण हुने जनाउँदै उनलाई नै सभामुख बनाइनु पर्ने मोरङका १० पालिकाका उपप्रमुखले सत्तारुढ नेपाल कम्यूनिस्ट पार्टीलाई आग्रह गरेका छन् ।

जिल्लाका ७ नगरपालिका उपप्रमुख र ३ गाउँपालिकाका उपाध्यक्षले नेकपा मोरङ जिल्ला कमिटीको कार्यालय, विराटनगरमार्फत त्यस्तो आग्रह पत्र बुझाएका हुन् ।

योग्यता–क्षमता र आवश्यकता अनुरुप तुम्बाहाम्फेलाई सभामुखको जिम्मेवारी प्रदान हुने विषयमा विश्वास रहेको भन्दै जिम्मेवारी प्रदान गर्न आग्रह गरिएको पत्र नेकपाका जिल्ला अध्यक्ष ऋषिकेश पोखरेललाई बुझाएका छन् ।

पथरी शनिश्चरे नगरपालिका उपप्रमुख यमुना विष्ट बास्तोला, उर्लाबारीकी लक्ष्मीदेवी भण्डारी, बेलबारीकी ढाकाकुमारी पराजुली, लेटाङकी कृष्णकुमारी पोखरेल निरौला, सुन्दरहरैचाकी धनाकुमारी तामाङ, रतुवामाइकी दमयन्ता चुडाल, रंगेलीकी केशव कुमारी खरेल तथा केराबारी गाउँपालिका उपाध्यक्ष शान्ति लिम्बु भुजेल, मिक्लाजुङकी सरला राई, कानेपोखरीकी राजमती इङ्नामको संयुक्त एक समूहले आग्रह गरेको हो ।

पत्रमा, उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेलाई सभामुखको जिम्मेवारी प्रदान गरिन भएको ढिलासुस्ती र सञ्चार माध्यममा आएको चर्चाले बढी गम्भीर बनाएको उल्लेख गरिएको छ । पत्रमार्फत नै उपप्रमुखहरूले तुम्बाहाम्फेलाई सभामुखको जिम्मेवारी प्रदान गर्ने विषयमा किन निर्णय हुन नसकेको हो भन्ने प्रश्न पनि गरेका छन् ।

“श्रमजीवी महिलाहरूका मुर्छित सपनाहरूलाई ब्युँताउन सक्ने उहाँको नेतृत्व र रणनीतिक नेतृत्व क्षमता विकासले ठाउँ पाउँदा हामीले फड्को मार्न सक्ने कुरामा हामी मोरङ जिल्लाभरिका स्थानीय सरकारका उपप्रमुख/उपाध्यक्षहरू विश्वस्त छौँ”, पत्रमा उल्लेख छ ।

यतिबेला प्रतिनिधि सभामा सभामुख पद रिक्त छ । यौन दुराचारको आरोप लागेका सभामुख कृष्णबहादुर महराले राजीनामा दिएपछि सभामुख पद खाली भएको हो । नयाँ सभामुख छान्न सत्तारुढ दल नेकपामा लामो बहस भएपनि अहिलेसम्म टुंगो लाग्न नसक्दा प्रतिनिधि सभाको बैठक ३ पटक सम्म स्थगित भइसकेको छ । यता उपसभामुख डा.शिवमाया तुम्बाहाङ्फेलाई नेकपाले पदबाट राजीनामा दिन आग्रह गरेको छ । तर उनले आफु सभामुखको लागि योग्य भएको जिकिर गर्दै आएकी छिन् ।