धरान/ धरान–१२ को एम्स एकेडेमीले मङ्गलबारबाट ‘एम्स स्पोट्र्स मिट’ शुरु गरेको छ ।

कलेजले स्पोट्र्स मिट अन्तर्गत फुटबल, फुटसल, ब्याडमिन्टन, टेबलटेनिस, चेस, भलिबल र बास्केटल प्रतियोगिता गरिरहेको छ । जसमा कलेजका झण्डै ३ सय विद्यार्थीहरू कुनै न कुनै खेलमा जोडिने कलेजका प्राचार्य मित्र तामाङले बताए । कलेजमा हाल ४ सय ५० भन्दा बढी विद्यार्थीहरू सहभागी छन् ।

फुटबल, फुटसल, ब्याडमिन्टन, टेबलटेनिस, भलिबल र बास्केटबलमा ६–६ वटा टिमहरूबीच प्रतिस्पर्धा भइरहेको कलेजका कोआर्डिनेटर हेमन्त भण्डारीले बताए । उद्घाटनको अवसरमा प्रतियोगिताका खेल संयोजकहरूलाई ट्रयाकसुट वितरण गरिएको छ ।

कार्यक्रमको उद्घाटन अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का वरिष्ठ मानार्थ उपाध्यक्ष तथा प्रदेश १ का अध्यक्ष किशोर राईले गरे । त्यसक्रममा कलेजले बास्केटबल प्रशिक्षक विकास चाम्लिङ राईलाई नगद ५ हजार ५ सय रुपैयाँसहित सम्मान–पत्रले सम्मानित गरेको छ ।

प्रशिक्षक राईले तेह्रौं दक्षिण एसियाली खेलकुद (साग) मा बास्केटबलतर्फ पदक दिलाउन सफल भएका थिए । कार्यक्रममा नेपाल बास्केटबल सङ्घका केन्द्रीय उपाध्यक्ष सुरज लामा, टेबलटेनिसका मुख्य प्रशिक्षक विनोद शाक्यलगायतको उपस्थिति रहेको थियो । स्पोट्र्स मिट बिहीबार समापन हुने कलेजले जनाएको छ ।