इनरुवा/ सुनसरीको बर्जु गाउँपालिकामा जारी बर्जु महोत्सवमा कुस्ती प्रतियोगिता भएको छ ।

पुस १८ गतेबाट बर्जु ताल छेउमा सुरु महोत्सवमा विभिन्न स्टल र रमाइलो मेलासँगै कुस्तीका प्रतियोगिता सञ्चालन भैरहेका छन् ।

महोत्सवमा दर्शकको ध्यान भने कुस्तीतर्फ बढी केन्द्रित देखिएको छ । दैनिक मध्यान्हपछि आयोजना हुने कुस्ती हेर्न गाउँपालिकाका वडासँगै आसपासका गाउँपालिका र विराटनगरबाट समेत दर्शक आउने गरेका छन् । आयोजकले कुस्तीतर्फको दर्शकको क्रेज देखेरै प्रतियोगिताका खेलहरू लमब्याउँदै आएको छ ।

महोत्सव आयोजक संस्था बर्जु सामुदायिक विकास केन्द्रका उपाध्यक्ष सञ्जीव चौधरीले भने महोत्सवको व्यवस्थापन निकै खर्चिलो रहेको बताए । कुस्ती खेलाडीको बसोवास र खानपिनसँगै साङ्गीतिक कार्यक्रमका लागि सहभागी गराइएका कलाकारहरूको खर्च धान्न मुस्किल रहेको उनले बताए । श्रवणकुमार चौधरीका अनुसार महोत्सव पूर्ण रूपमा बर्जु तालको प्रचारप्रसारलाई लक्षित गरी सञ्चालनमा ल्याइएको हो ।

तालमा पाइने विभिन्न प्रजातिका चरा अवलोकनका साथै वनभोज खाने र रमाइलोका लागि बोटिङ र बालबालिकाका लागि फनपार्क समेतको व्यवस्था रहेकाले बर्जु ताल भ्रमण वर्ष २०२० कालागि आर्कषक गन्तव्य बन्न सक्ने गाउँपालिका अध्यक्ष रघुनन्दन चौधरीको भनाइ छ । माघको १ गतेसम्म चल्ने महोत्सवको अन्तिम दिन माघी पर्वका रूपमा विशेष कार्यक्रम समेत आयोजना गर्न लागिएको छ ।