धरान/ बीसौं टुबोर्ग गोधुली रनिङ कपमा साविक विजेता धरान–१७ अन्तिम चारमा प्रवेश गरेको छ ।

धरान रङ्गशालामा आइतबारको दोस्रो क्वार्टर फाइनल खेलमा सर्वाधिक विजेता धरान–१९ लाई ४–२ गोल अन्तरले पराजित गर्दै अन्तिम चारको स्थान सुरक्षित गरेको हो ।

शुरुवाती अग्रता धरान–१७ बाट खेलको ३७ औं मिनेटमा मिलन राईले गरेका थिए । लगत्तै ४१ मिनेटमा दिवस राईले गोल गर्दै अग्रता दोब्बर पारे । तर, पहिलो हाफको अतिरिक्त समयमा धरान–१९ का निरज लिम्बूले गोल गर्दै अग्रता घटाए ।

दोस्रो हाफको ९ मिनेटमा धरान–१९ का मिलन राईले गोल गर्दै बराबरी गरे । २ मिनेट नबित्दै धरान–१७ बाट कृष्ण राईले गोल गर्दै ३–२ को अग्रता कायम गरे ।

खेलको इञ्जुरी समयमा धरान–१७ का मिलन राईले थप गोल गर्दै जित निश्चित गरे । खेलको म्यान अफ दी म्याच धरान–१७ का सुविन्द्र राई घोषित हुँदै नगद २ हजार ५ सय रुपैयाँ प्राप्त गरे । आज (सोमबार) को खेल धरान–६ र १६ बीच हुने आयोजक गोधुली क्लबका सदस्य सुवास राईले जानकारी दिए ।