धरान/ बीसौं टुबोर्ग गोधुली फुटबल रनिग कपअन्तर्गत शनिबारको खेलमा धरान–११ सेमिफाइलनमा प्रवेश गरेको छ ।

साविक उपविजेतासमेत रहेको धरान–११ ले टाइब्रेकरबाट धरान–१५ लाई ४–३ गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा प्रवेश गरेको हो । निर्धारित समयसम्म गोलरहित बराबरी खेलेपछि नतिजा टाइब्रेकरबाट लिइएको थियो । धरानमा दुवै टिमले सुन्दर अवसर खेर फाल्दा टाइब्रेकरसम्म कुर्नु परेको थियो । धरान–१५ एक पटकको गोधुली विजेता टिम हो । खेलको म्यान अफ दी म्याच धरान–११ का गोलरक्षक सचिन श्रेष्ठ घोषित भए ।

उनले नगद २ हजार ५ सय रुपैयाँसहित ट्रफी पाए । आज (आइतबार) साविक विजेता धरान–१७ र सर्वाधिक गोधुली विजेता धरान–१९ का बीच खेल हुने आयोजक गोधुली क्लबका अध्यक्ष देशबहादुर राईले जानकारी दिए ।

शनिबारबाट क्वार्टर फाइनल खेल प्रारम्भ भएको छ । क्वार्टर फाइलनदेखि म्यान अफ दी म्याच खेलाडीलाई नगद २ हजार ५ सय रुपैयाँ दिने पूर्वघोषित कार्यक्रम अनुसार रकम प्रदान गरिँदै आएको आयोजक गोधुली क्लबले जनाएको छ ।