धरान / किरात राईहरूको नयाँ वर्ष येले दोङ ५०८० को अवसरमा धरानमा ‘तेस्रो येले साँझ’ आयोजना हुने भएको छ ।
यसअघि दुई पटक यलम्बर साँझ आयोजना गरिसकेको ब्लिङ्क इभेण्ट म्यानेजमेण्ट प्रालिले यसपटक कार्यक्रमको नाम परिवर्तन गर्दै ‘येले साँझ’ गर्न लागेको हो । माघ ३ गते पब्लिक उच्चमाविको मैदानमा हुने येले साँझमा युवापुस्ताबीच लोकप्रिय ब्याण्ड ‘द एज’ र स्ट्याण्ड र कमेडियन सुजन जिम्बाले प्रस्तुति दिने आयोजकले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जनाइएको छ ।

नेपाल भ्रमण वर्ष २०२० को अभियानलाई समेत सहयोग पुर्याउने उद्देश्यसहित आयोजना हुन लागेको कार्यक्रमबाट अनाथ बालबालिका तथा वृद्धवृद्धालाई कम्तिमा ५० हजार रुपैयाँ सहयोग गर्ने ब्लिङ्क इभेण्ट म्यानेजमेण्ट प्रालिका अध्यक्ष अमित राईले बताए ।

उनका अनुसार कार्यक्रमको टिकट काट्ने दर्शकमध्ये एक जनालाई एज ब्याण्डसँगको रात्रीभोजमा सहभागी गराइनेछ । त्यसका लागि इच्छुकले कार्यक्रमअघि नै फारम भर्नुपर्नेछ । कार्यक्रमका लागि ९ लाख खर्च हुने आयोजकको अनुमान छ ।

चार वर्षदेखि साङ्गीतिक कार्यक्रम आयोजना गरेर सामाजिक कार्य गर्दै आएको आयोजकले यसअघि साङ्गीतिक कार्यक्रमबाट सङ्कलन भएको रकमबाट बोनम्यारो पीडित नइसा शाक्यको उपचारका लागि ८० हजार सहयोग गरेको थियो भने अर्का क्यान्सर पीडितलाई २५ हजार सहयोग गरेको थियो ।