भद्रपुर/ झापाको मध्यभागस्थित कन्काई नगरपालिका जिल्लामा सबैभन्दा बढी पर्यटक भित्र्याउने नगरको रूपमा चिनिन्छ ।

पर्यटकीय गन्तव्य थोरै भए पनि मुलुकमा कहलिएको जामुनखाडी सामुदायिक वन र व्यक्तिगत लगानीमा सञ्चालित ह्याप्पीलेण्ड फनपार्कले मात्र वर्षमा सात लाख आन्तरिक तथा वाह्य पर्यटक भित्र्याउँदै आएका छन् ।

स्थानीय दिनेश शिवाकोटी र मनोज शिवाकोटीले १६ करोड खर्च गरेर कन्काई नगरपालिका–३ मा ह्याप्पीलेण्ड स्थापना गरेका हुन् । जहाँ वर्षमा मात्र पाँच लाख आन्तरिक तथा वाह्य पर्यटकले दृश्यावलोकन गरेको उनीहरूको भनाइ छ । उनीहरूले साढे पाँच बिघा जमिनमा आकर्षक पार्क, सेल्फीडाँडा, वाटरफल्स, आइफल टावर, पानीको फोहरा, बगैँचा र बाल उद्यानलगायतका कृत्रिम स्थान तयार गरी पर्यटकलाई भरपूर मनोरञ्जन प्रदान गर्दै आएका छन् । दुई वर्ष अघि स्थापना गरेको पार्कमा फिल्म, टेलिसिरियल, म्युजिक भिडियो र विवाहको फोटो सेसन गर्न आउनेको दैनिक भीड लाग्ने गरेको सञ्चालक दिनेश शिवाकोटीले बताउँछन् ।

सुरुङ्गा बजारबाट करिब एक किलोमिटर उत्तर रहेको पार्कको प्रवेशद्वारमा १ सयको टिकट काटेर प्रवेश गरेपछि सबैकुरा निःशुल्क हेर्न र पार्कभित्र रहेको पिङ, स्वमिङपुलमा निःशुल्क खेल्न सकिने उनको भनाइ छ । ‘नाफामुखीभन्दा सेवामुखी बनेका छौँ’ उनले भने, ‘हाम्रो उद्देश्य भनेको सस्तो मूल्यमा बहुआयामिक मनोरञ्जन गराउने हो ।’ पार्कमा नेपालका वीरगञ्ज, हेटाँैडा, सिरहा, सप्तरीदेखि भारतको दार्जिलिङ, सिक्किम, आसाम सिलिगुडीदेखि विहारका विभिन्न स्थान, भुटान र बङ्लादेशका पर्यटक आउने गरेका छन् । पार्कभित्रै २५ वटा वनभोज (पिकनिक) स्थल सञ्चालन भइरहेका छन् भने थप २० वटा बनिरहेका छन् ।

कन्काई नगरपालिका–२ स्थित जामुनखाडी सामुदायिक वन नेपालकै पहिलो पर्यापर्यटन प्रवद्र्धन गर्ने सामुदायिक वन हो । जहाँ वर्षमा दुई लाख बढी आन्तरिक तथा वाह्य पर्यटक भित्रिने गरेका छन् । पूर्व–पश्चिम राजमार्गको सडक–खण्डबाट दुई किलोमिटर उत्तरमा रहेको सो वनलाई प्रदेश सरकारले प्रादेशिक प्राणी उद्यान केन्द्र तथा मिनी चिडियाखाना बनाउनका लागि पूर्वाधार तयार गरिरहेको छ ।

चार सय ३४ हेक्टर क्षेत्रफलमा रहेको सामुदायिक वनभित्र, पाँचवटा ठूला पोखरी, झोलुङ्गे पुल, बाल उद्यान केन्द्र, ४० बढी वनभोजस्थल र विभिन्न जातका वन्यजन्तु रहेका छन् । जैविक विविधताले भरिपूर्ण सामुदायिक वनमा भारतको पश्चिम बङ्गाल, विहारदेखि नेपालकै विभिन्न स्थानबाट अध्ययन अनुसन्धानका लागि विद्यालयले विद्यार्थीसमेत लिएर आउने गरेको सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष खेमप्रसाद सिटौलाले बताए ।

वनले पर्यटकलाई असुविधा नहोस् भनेर विभिन्न स्थानमा शौचालय, बिजुली बत्ती, खानेपानी र टहरासमेतको व्यवस्था गरेको उनको भनाइ छ । सो क्षेत्रमा आउने पर्यटकलाई खान र बस्नका लागि राम्रो प्रबन्ध भएका होटलसमेत छन् । नयाँ वर्ष २०७७ देखि स्थानीय क्षेत्रमा होमस्टे सञ्चालनको तयारी, कोसेली घर निर्माण सम्पन्न गर्ने योजना रहेको अध्यक्ष सिटौलाको भनाइ छ ।

यहाँ आउने पर्यटकलाई ५० रुपैयाँ तिरेर वन क्षेत्रको अवलोकन भ्रमण गर्ने व्यवस्था मिलाइएको छ । उनले वन्यजन्तु हेर्ने, पोखरीमा नौका विहार गर्ने पर्यटकले थप ५० रुपैयाँका दरले तिर्नुपर्ने व्यवस्था गरिएको छ । वार्षिक टिकट बिक्रीबाट दुई करोड राजश्व सङ्कलन गर्दैै आएको वनले पाँच प्रतिशत स्थानीय सरकारलाई करबापत बुझाउने गरेको छ । वनपरिसरमा ३ सय व्यक्ति अटाउने क्षमताको हलसमेत बनाइएको छ । जहाँ जिल्लाबाट दैनिक जसो विभिन्न सङ्घ–संस्थाका साधारणसभा, तालिम, गोष्ठी आदि सञ्चालन भइरहने गरेको अध्यक्ष सिटौलाको भनाइ छ ।

अध्यक्ष सिटौलाले नेपाल भ्रमण वर्षलाई सफल पार्नका लागि वनमा आवश्यक पूर्वाधार थप भइरहेको बताउँदै भने, ‘यो वर्ष दुई लाख ५० हजार पर्यटक भिœयाउने लक्ष्य राखेका छौँ ।’ उनले विद्यालयको आधिकारिक परिचय–पत्र लिएर आएमा विद्यार्थीले २५ प्रतिशत छुट पाउने व्यवस्था मिलाइएको जानकारी दिए । कन्काई नगरपालिका प्रमुख राजेन्द्र पोखरेलले नगरले चालू आर्थिक वर्षमा मात्र पर्यापर्यटनका लागि एक करोड बजेट विनियोजन गरेको बताए । उनले निजी क्षेत्रमा सञ्चालन गरिएका पर्यटकीयस्थललाई प्रवद्र्धन गर्न र सामुदायिकरूपमा सञ्चालित स्थानको पर्यापर्यटनलाई थप आकर्षक बनाउनका लागि सो बजेट खर्च गरिने बताए ।

उनकै संयोजकत्वमा नेपाल भ्रमण वर्षलाई सफल पार्न र नगरका पर्यटकीय स्थानमा जतिसक्दो धेरै आन्तरिक तथा वाह्य पर्यटकलाई भिœयाउनका लागि २१ सदस्यीय नगर पर्यटन समितिसमेत बनेको छ । समितिले पर्यटकीय क्षेत्रमा आउने पर्यटकलाई पर्यटकमैत्री व्यवहार गराउने र पर्यटकीय सम्भाव्यता रहेको स्थानको अध्ययन गरेर पूर्वाधार निर्माण गरिने बताए । कन्काई नगरपालिकाभित्र कोटीहोम, धनुषकोटी धाम र निजी लगानीमै सञ्चालित कन्काई फनपार्कलगायतका पर्यटकीय स्थान रहेका छन् ।

happy1 happy2 happy