इनरुवा/ वलाहा (ब्लाष्ट) कर्णाली प्रदेश सुनसरीको इनरुवामा जारी मनमोहन मेमोरियल एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताबाट बाहिरिएको छ ।

इनरुवा खेल मैदानमा सम्पन्न समूह बि अन्तर्गतको दोस्रो खेलमा प्रदेश २ सँग ८ विकेटको हारसँगै कर्णाली प्रतियोगिताबाट बाहिरिएको हो । कर्णाली प्रदेशले दिएको १ सय ३० रनको लक्ष प्रदेश नम्बर २ ले २२ ओभर ५ बल खेल्दै २ विकेटको क्षतिमा भेट्टायो । प्रदेश २ को जितमा हसिम अन्सारीले अर्धशतकीय पारी खेले ।

७७ बलको सामना गरेका अन्सारीले ११ चौका र १ छक्काको मद्दतमा नटआउट ८० रन बनाउँदा सुरज पटेलले ३३ रन जोडे । प्रदेश २ का हरिशङ्कर साहले ५ र सुधिर चौधरीले व्यक्तिगत २ रन बनाए । कर्णालीका अनुज चुनारा र दिनेश अधिकारीले १/१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको कर्णाली प्रदेशले ३१ ओभर ५ बलमा सबै विकेट गुमाउँदै १ सय २९ रन जोडेको थियो । कर्णालीका रवीन्द्रजङ्ग शाहीले सर्वाधिक ४६ रन बनाएको खेलमा टिमका लागि अन्य ब्याट्सम्यानले गतिलो प्रर्दशन गर्न सकेनन् । दिवान पुनले २३ रन बनाउँदा टिमका लागि प्रकाश जैसीले १५ रन जोडे । ४ ओभर ५ बल बलिङ गरेका प्रदेश २ का कप्तान मेहबुब आलमले ११ रन खर्चिएर कर्णालीको ३ विकेट लिए ।

आदील अन्सारी र हरिशङ्कर साहले समान २ विकेट लिए भने कुमार थापाले १ विकेट हात पारे । प्रदेश २ का हसिम अन्सारी प्लेयर अफ द म्याच घोषित भए । आजको विजेता प्रदेश नम्बर २ ले भोलि विभागीय टोली नेपाल पुलिसको सामना गर्ने छ । भोलिको विजेता टोली सेमिफाइनल प्रवेश गर्ने छ ।