धरान/ २० औं वडास्तरीय टुबोर्ग गोधुली रनिङ कपमा साविक उपविजेता धरान–११ र सर्वाधिक विजेता धरान–१९ क्वार्टर फाइनलमा प्रवेश गरेका छन् ।

धरान रङ्गशालामा मङ्गलबार भएको पहिलो खेलमा धरान–११ ले धरान–३ माथि २–१ को कठिन जित हात पारेको छ । धरान–११ बाट दुवै गोल वर्तमान राईले गरे । पहिलो गोल फ्रिकिकमार्फत् गर्दा दोस्रो गोल हेडमार्फत् गरेका थिए । खेलको म्यान अफ दी म्याच पनि उनी नै घोषित हुँदै नगद १५ सय रुपैयाँसहित ट्रफी पाए । धरान–३ बाट विसन श्रेष्ठले पेनाल्टीमार्फत् गोल गरे ।

दोस्रो खेलमा सर्वाधिक विजेता धरान–१९ ले धरान–१२ लाई ३–१ गोल अन्तरले पराजित गरेको छ । खेलमा इन्सन राईले दुई गोल गर्दा योगेश राईले पेनाल्टीमार्फत् गोल गरेका थिए । धरान–१२ ले भने उपहार गोल प्राप्त गरेको थियो ।

धरान–१९ का खेलाडीको खुट्टामा लागेर आत्मघाती गोल भएपछि धरान–१२ ले सान्त्वना गोलको अवसर पाएको हो । खेलको म्यान अफ दी म्याच इन्सन राई घोषित हुँदै नगद १५ सय रुपैयाँसहित ट्रफी पाए । आज (बुधबार) को खेल धरान–४ र धरान–१५ का बीच पहिलो खेल हुँदै छ भने दोस्रो खेल साविक विजेता धरान–१७ र धरान–२० का बीच हुने आयोजक गोधुली क्लबका सुवास राईले जानकारी दिए ।