धरान/ २० औं वडास्तरीय गोधुली रनिङ कप अन्तर्गत सोमबारको खेलमा धरान–७ र धरान–१ प्रि–क्वार्टर फाइलनमा प्रवेश गरेका छन् ।

धरान रङ्गशालामा सम्पन्न पहिलो खेलमा धरान–७ ले धरान–९ लाई ५–१ को फराकिलो गोल अन्तरले पराजित गरेको छ । जितका लागि धरान–७ बाट अनिश राई, र दिनेश श्रेष्ठले २–२ गोल गरे । अर्को एक गोल किशोर फोम्बोले गरे । धरान–९ बाट सान्तवना गोल सुरेश लिम्बूले गरे । खेलमा दीप श्रेष्ठले यो वर्षको पहिलो रातो कार्ड खाँदै मैदान छाडेका थिए ।

त्यस्तै सोमबारै सम्पन्न दोस्रो खेलमा धरान–१ ले धरान–२ लाई ४–० गोलले हराएको छ । खेलमा धरान–१ का अनिल सुनामले ह्याट्रिक पूरा गर्दा सुरज खकुरेलले एक गोल गरे । आज (मङ्गलबार) को पहिलो खेल साविक उपविजेता धरान–११ र धरान–३ बीच हुँदै छ भने दोस्रो खेल गोधुली कपको सर्वाधिक विजेता धरान–१९ र धरान–१२ बीच हुने आयोजक गोधुली क्लबका उपाध्यक्ष सतिस केसीले जानकारी दिए ।