विराटनगर । सडकमा रहेका बालबालिकाको खोजी तथा उद्धारका लागि रात्रीकालिन अभियानको शुभराम्भ भएपछि दुई सहरबाट २९ जना सडक बालवाकिालको उद्धार गरिएको छ । पहिलो दिन सुनसरीको धरानबाट १४ र झापाको दमकबाट १५ जना सडक बालवालिकाहरुको उद्धार गरिएको हो ।
शुक्रबार धरानबाट शुरु गरिएको अभियानमा ३० जनाको उद्धार गरिएको मध्ये १६ जना बालबालिका थिए भने अन्य १४ जना युवा, महिला तथा वृद्धहरु थिए । धरानमा उद्धार गरेको भोली पल्ट शनिबार दमकको मुख्य चौकमा गरिएको छ । दमकमा उद्धार गरिएका मध्ये २ जना बालिका र १३ जना बालक छन् ।
उद्धार गरिएको दुवै सहरमा प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेसहित स्थानिय तहका प्रमुख, उप्रमुख र प्रहरीको सहभागिता थियो । सबै सहर र सडकबाट बालबालिकाहरुलाई उद्धार गरेर सडकलाई बालबालिकामुक्त प्रदेश बनाउन प्रदेश सरकार लागि परेको प्रदेशका सामाजिक विकास मन्त्री जीवन घिमिरले बताए ।
‘कुनैपनि कारणले गर्दा नागरिकले सडकमा बस्नु पर्ने र बाँच्नुपर्ने अवस्थाको अन्त्य प्रदेश सरकारले गर्नेछ,’ मन्त्री घिमिरले भने, ‘बालबालिकाले खाना, लाउँन र पठन–पाठन गर्न पाउने संवैधानिक अधिकारलाई व्यवहारिक कार्वान्वयका लागि सरकारले नै जिम्मा लिने नीति अनुसार यो अभियानको सुरुवात भएको हो ।’ उद्धार गरिएका बालबालिकाहरुलाई पुनः सडकमा आउन नदिन स्थानीयतहरुसँग पनि आवश्यक समन्वय भएको उनले बताए । ‘यो अभियान तीनै तहको सरकारको संयुक्त अभियान हो,’ उनले भने, ‘अभियानबाट तीनै सरकारबीच समन्य र सहकार्य भएको छ ।’
महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, बालबालिका खोजतलास समन्वय केन्द्रले सामाजिक विकास मन्त्रालयको समन्वयमा प्रदेश १ का मुख्य शहरका सडकमा पुगेका बालबालिकाको खोजी तथा उद्धारका लागि रात्रीकालिन अभियान शुरुवात गरेको हो ।
सुत्ने बेला यसरी गरिन्छ उद्धार
प्रदेश १ को विभिन्न सहरमा रहेका सडक बालवालिकाहरूलाई राति सुत्ने बेलामा सडक बालवाकिालहरुको उद्धार गरिदै आएको छ । बालबालिका खोजतलास समन्वय केन्द्रबाट आएका तालिम प्राप्त प्रहरी र स्थानिय प्रहरीले सडकमा सुत्ने सडक बालवालिकाहरुको ‘रेकी’ गरिन्छ । उनीहरू सडकमा सुत्ने बाँस, स्थानको पहिचान उक्त टोलीले गरेपछि उद्धारको लागि स्थानिय तहलाई जानकारी गराइन्छ । रात परेपछि उनीहरू सुत्ने बेलामा स्थानिय तहका प्रमुख तथा उपप्रमुख, स्थानिय प्रहरी प्रशासन र मन्त्रालयबाट खटिएको टोलीले उनीहरूलाई उद्धार गर्दै आएको छ । दमकमा रहेका सडक बालवालिकाहरुलाई शनिबार राती साढे सात बजे उद्धार गरिएको थियो ।
उद्धार गरिन बालबालिका खोजतलास समन्वय केन्द्रको प्रदेश ३ लेखिएको ००१ ग ३६७२ नम्बरको सेता प्रहरी भेन रहेको छ । सो भेनमा राखेर प्रदेश १ को विभन्न जिल्लाको सहरहरूबाट उद्धार भएका सडकबालवालिकाहरू लिएर इटहरीस्थित भ्वाइस अफ चिल्ड्रन(भीओसी) मा राखिदै आएको छ ।
सडक बालवालिकाहरुलाई भीओसीमा ल्याएपछि स्क्रिनिङ गरेर आवस्यक कदम चालिने राष्ट्रिय बाल अधिकार परिषद्का प्रशासकीय प्रमुख कृष्णप्रसाद भुषालले बताए । भीओसीमा ल्याएपछि उनीहरूको उमेर समूह छुटयाएर पुनःस्थापना केन्द्रमा पनि लैजाने तयारी गरिन्छ ।
प्रदेश १ का मुख्य शहर सुनसरीको धरान, इटहरी, झापाको दमक र बिर्तामोडमा गरी ६३ जना सडक बालबालिका रहेको सामाजिक विकास मन्त्रालयका सचिव वीरबहादुर राईले जानकारी दिए । उनका अनुसार धरान, र दमकपछि विर्तामोडमा रहेका सडक बालवालिकाहरुलाई पनि उद्धार गरिनेछ । विर्तामोडमा पुस २६ गते सडक बालवालिकाहरु उद्धार गरिने तयारी छ । देशभर ५ सय ३३ बालगृह मध्ये प्रदेश १ मा मात्रै २८ वटा रहेका छन् । १४ वटा भने अहिले सञ्चालनमा रहेका छन् ।































