बिर्तामोड । पुर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले विकासको तरिका परिवर्तन गर्न स्थानीय तहका जनप्रतिनिधिलाई आग्रह गरेका छन् । अर्जुनधारा नगरपालिकाले गठन गरेको बिषयगत समितिलाई सपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रममा बोल्दै नेता पाण्डेले दक्ष जनशक्ति उत्पादन गर्नु आजको आवश्यकता भएको बताए ।

नगरपालिकाले नगर युवा परिषद, खेलकुद विकास समिति, भाषा कला साहित्य तथा संस्कृति प्रवद्र्धन समिति गठन गरेर सपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रम आयोजना गरेको थियो । सोही कार्यक्रमलाई सम्बोधन गर्दै बिकासमा नयाँ तरिकाले सोच्न आग्रह गरेका हुन् ।

‘हामी आन्दोलन गरेर सत्तामा पुग्यौं, मन्त्री हुँदा मलाई नजानेको कुरा के छ र जस्तो लाग्थ्यो’, पूर्व अर्थमन्त्री पाण्डेले भने, ‘एउटा सुरुङ बनाउनु पर्यो भने पनि हामीसँग इन्जिनियर नै रहेनछ, हामी पार्टीका नेताले पनि विकास कसरी गर्ने भन्ने जानेका नै रहेनछौं, त्यसैले स्थानीय तहका जनप्रतिनिधिलाई मेरो अनुरोध छ, विकास कसरी गर्ने भन्ने अध्ययन गर्नुहोस् ।’

नेकपा स्थायी समितिका सदस्य समेत रहेका पाण्डेले किसानका उत्पादनलाई कसरी वजारको पहुँच दिलाउने भन्ने विषयमा स्थानीय तहले कार्यक्रम बनाउनु पर्ने बताए । उनले देश आर्थिक रुपमा सवल नभई भोको पेट र नाङ्गो आङले राष्ट्रियताको रक्षा गर्न नसक्ने बताए । ‘यहाँ प्रहरीको तलव २५ हजार रुपैयाँ छ, खाडी गयो भने सेक्युरिटी गार्डले एक लाख रुपैयाँ कमाउँछ, अनि कसरी योग्य जनशक्तिलाई देश विकासमा लगाउन सकिन्छ र’, पुर्व मन्त्री पाण्डेले भने, ‘चीनले विदेशमा रहेका नागरिकलाई देश वोलाएर आकर्षक तलब दिएर देश विकास गर्यो, त्योबाट हामीले सिक्न जरुरी छ । कसैसँग राष्ट्रियताको लडाईं लड्नु पर्यो भने पनि हतियार किन्न पैसा नै चाहिन्छ ।’

कार्यक्रममा मेयर हरिकुमार रानाले नगर युवा परिषद, खेलकुद विकास समिति, भाषा कला साहित्य तथा संस्कृति प्रवद्र्धन समितिका पदाधिकारी सदस्यलाई सपथ गराएका थिए । कार्यक्रममा कराते खेलाडी एस्तर राईसहित फुटबल खेलमा विजेता बनेको नगरस्तरीय टिमलाई नगदसहित सम्मान गरिएको थियो । गत महिना सम्पन्न १३औँ दक्षिण एसियाली खेलकुद (साग)मा करातेको कुमुतेतर्फ कास्य पदक जितेकी अर्जुनधारा ५ कि एस्तर राईलाई नगद २५ हजार र ताम्रपत्रसहित सम्मान गरिएको हो ।

सोही कार्यक्रममा झापा जिल्लाको पालिकास्तरीय फुटबल प्रतियोगितामा बिजेता टिमलाई पनि नगदसहित सम्मान गरिएको छ । दुई साताअघि सुरुंगामा सम्पन्न फुटबल प्रतियोगितामा अर्जुनधाराको टिमले उपाधि हात पारेको थियो । दोस्रो पटक उपाधि हासिल गरेको टिमका खेलाडी तथा अफिसियललाई नगद ५ हजारका दरले रकम प्रदान गरिएको छ । नगर खेलकुद विकास समितिको बैठकले विजेता खेलाडीलाई नगदसहित सम्मान गर्ने निर्णय गरेको थियो । सो अवसरमा सांस्कृतिक कार्यक्रम पनि सञ्चालन गरिएको थियो ।