पथरी / योजनाका लागि विनियोजित बजेट खर्च नगरी रकम बेरुजु गर्ने पालिकामध्ये लेटाङ नगरपालिका मोरङ जिल्लामै पहिलो भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नगर कमिटी लेटाङले आरोप लगाएको छ ।
नगर कमिटीले बिहीबार लेटाङमा पत्रकार सम्मेलनको आयोजना गर्दै सो आरोप लगाएको हो । पार्टी नगरकमिटीले १३ बुँदे विज्ञप्ति प्रकाशित गर्दै स्थानीय सरकारको ध्यानाकर्षण गराएको छ । गत आर्थिक वर्षमा लेटाङको प्राथमिक स्वास्थ्य केन्द्रलाई अस्पतालको रूपमा स्तरोन्नति गर्न सङ्घीय सरकारबाट आएको २ करोड १४ हजार रुपैयाँ, तेली खोला हुँदै मदन चोकबाट मोरङे खोलासम्मको २३ सय मिटर सडक कालोपत्रे गर्नको लागि प्रदेश सरकारबाट ६५ लाख, नगरपालिकाबाट ४० लाख, वडा कार्यालयबाट १५ लाख गरी १ करोड २० लाख बजेट फ्रिज भएर फिर्ता गएको छ ।

त्यसैगरी गत आर्थिक वर्षमा चिसाङ खोला ठेक्का ४ करोड ५ लाखमा लगाए पनि ठेक्काअनुसार नगरपालिकाले १ करोड ३० लाख रकम उठाउन नसकेको बताउँदै नगरपालिकाले लेटाङ नगरपालिकाका जनताको लागि काम गर्न नसकेको नेकपा नगर कमिटीका अध्यक्ष कृष्ण लम्सालले बताए ।

लेटाङ नगरपालिकाको कार्यालयबाट हुने सेवाहरूमा पनि जनताले सास्ती पाएको विज्ञप्तिमा उल्लेख छ । नगरप्रमुख शङ्खर राई र प्रमुख प्रशासकीय अधिकृत ध्यानबहादुर थापा बीचको द्वन्द्वले नगरबाट दिइने सेवामा जनताले सास्ती पाएको बताएका छन् । अधिकृत थापा कहिलकाहीँ मात्र कार्यालय आउने गरेको र कार्यालय चुस्त राख्न नगरप्रमुखले ध्यान नदिएको आरोप नेकपाले लगाएको छ ।
ह्युमपाइप, तारजाली, जस्तापाता जस्ता सामग्री खरिद गर्दा अपारदर्शी ढङ्गबाट कम्पनी, फर्म र व्यक्तिसँग मिलेमतोमा रकम निकासा गर्ने गरेको विज्ञप्तिमा उल्लेख छ ।

राष्ट्रिय प्राथमिकताको योजना मदन भण्डारी वैकल्पिक मार्गको विषयमा नगरपालिकाले असफल बनाउने भूमिका खेलेको बताएका छन् । नगरपालिकाको नीति तथा कार्यक्रम तय गर्दा नीति नियमविपरीत ठूलो रकम अबण्डा शीर्षकमा राखी मनोमानी ढङ्गबाट अपारदर्शी र एकलौटी रूपमा रकम खर्च गर्ने कार्यबाट लोकतन्त्र र ऐन नीतिको उपहास भएको भन्दै १३ बुँदामा ध्यानाकर्षण गराइएको छ ।

विज्ञप्तिमा नेकपा नगरकमिटीका सचिव डिल्ली विश्वकर्मा र अध्यक्ष कृष्ण लम्सालको हस्ताक्षर रहेको छ । पत्रकार सम्मेलनमा नेकपाका जिल्ला सदस्य भूपेन्द्र लावतीलगायत पार्टीका वडा, नगरका नेता उपस्थित रहेका थिए ।

यसअघि पनि नेपाली काङ्ग्रेसनिकट लेटाङ नगरपालिकाका मेयर शङ्खर राईले बहुमतको आडमा नगरसभा पारित गर्न लागेको भन्दै नेपाल कम्युनिष्ट पार्टी निकट उपप्रमुख कृष्णकुमारी निरौलासहित २२ जना जनप्रतिनिधिहरूले नगरसभा बहिष्कार गरेका थिए । उनीहरूले नगरसभा मात्र होइन, दुईवटा कार्यपालिकाको बैठक पनि बहिष्कार गरेका थिए । उपप्रमुख निरौलाको संयोजकत्वमा गठित योजना अनुगमन समितिमा समेत नगरप्रमुख राईले हस्तक्षेप गरी जिम्मेवारीबाट बञ्चित गराएको उनीहरूले बताए । वडाबाट आएको सिलिङ बजेट छलफल नै नगरी नगरसभामा लगेको र नगरले वितरण गर्ने बजेट मेयरले आफूखुशी वितरण गरेको बताएका थिए ।