मोरङ /  नेपाली काङ्ग्रेसका नेताहरूले पार्टी सभापति शेरबहादुर देउवाको चर्को आलोचना गरेका छन् ।
राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा नेपाली काङ्ग्रेस मोरङले बयरवनमा आयोजना गरेको कार्यक्रममा बोल्ने अधिकांश नेताहरूले सभापति देउवाको व्यवहारप्रति चर्को आलोचना गरे ।

कार्यक्रममा कांग्रेसका प्रभावशाली नेता डा.शेखर कोइरालाले पार्टी सभापति देउवाले नैतिकता गुमाएर नेतृत्वमा बसिरहँदा काङ्ग्रेस कमजोर बन्दै गएको बताए । ठूला–ठूला भ्रष्टाचारका विषयमा सभापति देउवाको नाम जोडिँदा प्रतिपक्षको भूमिकामा काङ्ग्रेस खरो उत्रन नसकेको नेता कोइरालाको ठहर छ । ‘वाइडबडी काण्ड, बालुवाटार जग्गा प्रकरण, यति होल्डिङ्स जस्ता कुरामा हाम्रा सभापतिको नाम जोडिन्छ । यो विषयमा उहाँ नैतिक धरातलमा उभिन सक्नुहुन्छ ?’

प्रश्न गर्दै उनले भने, ‘नैतिक धरातल गुमाइसकेको व्यक्ति नेतृत्वमा रहिरहँदा अहिले अप्ठेरो परिस्थिति आएको छ ।’
काङ्ग्रेस पार्टी राणा, राजाहरूसँग लडेर आएको स्मरण गर्दै नेता कोइरालाले अहिले पार्टी सभापति देउवाको कमजोरीका कारण कम्युनिष्ट पार्टीको सरकारसामु प्रतिपक्षको भूमिकामा पनि बोल्न नसक्नु दुर्भाग्य भएको टिप्पणी गरे । काङ्ग्रेस केन्द्रीय सदस्यसमेत रहेका नेता कोइरालाले सभापति देउवाले सभापतिको भूमिका निर्वाह गर्न नसक्दा पार्टीमा समस्या सिर्जना भएको बताए । ‘सभापति भनेको अभिभावक हो ।

अभिभावकले पार्टीमा सबैलाई मिलाएर अघि बढ्नु पर्छ । सभापतिले गुट चलाएर कसैलाई काखा, कसैलाई पाखा गर्ने होइन, सबैलाई न्याय दिन्छु भनेर अघि बढ्नुपर्छ’ –उनले भने । काङ्ग्रेसको इतिहासमा यसअघि सधैं सहमतिबाटै महाधिवेशनको मिति तोकिने गरेको भन्दै उनले अहिले पनि सहमतिकै आधारमा मिति निर्धारण गर्नुपर्ने अडान दोहो¥याए । अर्को एक फरक प्रसङ्गमा उनले प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता जस्ता मूलभुत विषयलाई निमोठेर सरकारले प्रजातन्त्रलाई धरापमा पारेको आरोप पनि लगाए । बीपीको राष्ट्रिय मेलमिलाप नीति अहिले पनि उत्तिकै सान्दर्भिक रहेकोमा पनि उनले जोड दिए ।

कार्यक्रममा काङ्ग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले प्रतिपक्षको भूमिका काङ्ग्रेसले प्रभावकारी रूपमा निर्वाह गर्न नसकेको स्वीकार गर्दै पार्टी नेतृत्वलाई सच्चिएर अघि बढ्न सुझाव दिए । सरकार भ्रष्टाचारको दलदलमा फसेर जनतालाई चुस्ने काम गरिरहेको भन्दै उनले अब सरकारका गलत कामको भण्डाफोर गर्ने गरी प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता आंैल्याए । पार्टीमा बहुमतको दम्भ देखाएर एकलौटी रूपमा अघि बढ्ने परिपाटी हाबी हुँदै गएको भन्दै उनले विधान मिचेर अघि बढ्ने छुट कसैलाई नभएको प्रष्ट पारे ।

काङ्ग्रेस महासमिति सदस्य एवम् प्रदेशसभा सदस्य लोकप्रसाद सङ्ग्रौलाले काङ्ग्रेसको केन्द्रीय नेतृत्वले एकलौटी काम गरेर विभाजन निम्त्याएको आरोप लगाए । पार्टी सभापति देउवाले अहिलेको परिस्थितिलाई आत्मसात गर्नुपर्ने भन्दै उनले गुटगट राजनीतिलाई अन्त्य गरेर पार्टीलाई एकजुट बनाउन सभापति देउवालाई सझाव दिए । ‘पार्टी सभापति अब गुटको मात्र नेता नभई सिङ्गो पार्टीको नेता बन्नुपर्छ’ –सङ्ग्रौलाले भने । कार्यक्रममा बोल्ने अधिकांश नेताहरूले सभापति देउवाप्रति असन्तुष्टि जनाउँदै सच्चिएर अघि बढ्न सुझाव दिएका छन् ।

देउवाको स्वागतमा गएनन् नेता
यसैबीच मोरङमा सभापति देउवाप्रतिको असन्तुष्टि वैचारिक रूपमा मात्र नभई व्यवहारिक रूपमा समेत देखिन थालेको छ । केन्द्रीय नेता आउँदा प्रायः अधिकांश पदाधिकारीसहित नेताहरू स्वागतका लागि विराटनगर विमानस्थल पुग्ने गरेको भए पनि बुधबार त्यस्तो भएन ।

मेलमिलाप दिवस विशेष कार्यक्रमलाई सम्बोधनका लागि सुनसरी जाने क्रममा विराटनगर विमानस्थल अवतरण गर्दा काङ्ग्रेस मोरङका अधिकांश पदाधिकारी देउवाको स्वागतमा गएनन् । यसले पनि देउवाप्रतिको असन्तुष्टि चुलिँदै गएको पुष्टि हुने काङ्ग्रेस स्थानीय नेताहरूको भनाइ छ ।