धरान/अन्तर वडास्तरीय २० औं गोधुली टुबोर्ग फुटबल रनिङ कप पुस १९ गतेदेखि हुने भएको छ ।

पहिलो पटक २० वटै वडा सहभागी भएको गोधुली क्लब धरानले बिहीबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । माघ ५ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको उद्घाटन खेल धरान–३ र ५ नम्बर वडाबीच हुने भएको क्लबका अध्यक्ष देशकुमार राईले बताए । २०५० सालदेखि हुँदै आएको प्रतियोगितामा पहिलो पटक २० वटै वडाका टिमहरू सहभागी भइरहेका हुन् । यसअघि १९ वटा वडा हुँदा पनि १६ वटा टिम सहभागी हुँदै आएका थिए भने पाँचकन्या र विष्णुपादुका गाविस गाभिएर बनेपछिको २७ वटा वडा हुँदा २२ वटा वडाले मात्रै सहभागिता जनाउँदै आएको क्लबका उपाध्यक्ष सतिस केसीले बताए ।

टुबोर्गको मुख्य प्रायोजन रहेको प्रतियोगितामा विजेता वडाले यस पटक एक लाख ११ हजार एकसय ११ रुपैयाँ र उपविजेताले ५५ हजार ५ सय ५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछ । टाइटलतर्फ बेष्ट प्लेयरले ११ हजार रुपैयाँ, राइजिङ प्लेयर, बेष्ट डिफेण्डर, फाइनल खेलको म्यान अफ दी म्याच, बेष्ट गोलरक्षक र बेष्ट प्रशिक्षकले जनही नगद ५ हजार ५ सय रुपैयाँसहित ट्रफी पाउने छन् । त्यस्तै सर्वाधिक गोलकर्ताले नगद ७ हजार ५ सय रुपैयाँ पाउने छ ।

प्रतियोगितामा यसपटक नकआउट चरणका म्यान अफ दी म्याचले नगद १ हजार ५ सय र क्वार्टर फाइलनको म्यान अफ दी म्याचले नगद २ हजार ५ सय रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ । गोधुलीमा हालसम्म धरान–१९ ले उपाधि उचालेको छ । यसअघिको साविक विजेता भने धरान–१७ हो । क्लबले यसक्रममा क्लबको भवनसमेत उद्घाटन गर्ने तयारी थालेको छ ।