इनरुवा / इनरुवादेिखि रामधुनीसम्मकाे ३२ करोड लागतमा कालोपत्र सडक निर्माण थालिएको छ । सो सडकको विषयमा दुई दलका प्रतिनिधीबिच जस कस्ले लिने भन्ने विषय बिवादित बनेको छ ।
एक नम्बर प्रदेश सरकार मातहत रहेको भौतिक पूर्वाधार विकास मन्त्रालयको ३२ करोड ८६ लाख ६ हजार ९ सय १८ रुपैंयाकोलागतमा निर्माण हुने कालोपत्रे सडक पूर्वाधार विकास कार्यालय मोरङले कार्यान्वयनको जिम्मा पाएको छ ।
वडा कार्यालयले नितान्त आफुहरुको पहलमा योजना पारेको दावी गरिरहँदा प्रदेश सांसदसमेत रहेका एक नम्बर प्रदेशका प्रमुख प्रतिपक्षी दलका नेता राजिब कोइरालाले उक्त खण्डको शिलान्यास गरेका छन् । तामझामका साथ कांग्रेस तर्फका निर्वाचित प्रदेश सांसद कोइरालाले सो सडकको औपचारिक शिलान्यास गरेसँगै वडा कार्यालयले उक्त कदमप्रति खेद व्यक्त गरेको छ ।
वडाले पत्रकार सम्मेलनको आयोजना गरि आफुहरुले ल्याएको योजनालाई काँग्रेसले आफ्नो भन्नु लज्जास्पद भएको प्रतिकृया दिएको छ । वडाध्यक्ष कोषराज अधिकारीले नितान्त वडाको पहलमा परेको योजनालाई स्थानीय काँग्रेसीहरुले आफ्नो पार्टीको योगदान भनेर जनतामा भ्रम छर्न खोज्नु उचित नभएको बताए ।
वडाध्यक्ष अधिकारी भन्छन्, काँग्रेसले वडामा भ्रम छर्ने काम ग¥यो । त्यसकै कारण वडावासीमाझ वास्तविकताको पर्दाफास गर्न पत्रकार सम्मेलनको आयोजना गर्नु परेको हो । पत्रकार सम्मेलनमा उपस्थित निर्वाचित जनप्रतिनिधिहरुले कांग्रेसको कदम प्रति घोर भत्सर्ना गरेका थिए ।
पत्रकार सम्मेलनमा उपस्थित कार्यपालिका सदस्य मनु चापागाई, वडा सदस्यहरु राजेश दाहाल, हेमनारायण चौधरी र ठकनीदेवी सदाकासाथै नेकपा नगर अध्यक्ष तिर्थ अधिकारी, पूर्व गाविस अध्यक्ष कमल कार्की, स्थानीय अगुवा दीपक कार्कीलगायतले वडालाई वाइपास गरि गरिएको शिलान्यास कार्यप्रति असन्तुष्टि पोखेका थिए ।
सिङगो वडा कार्यालयले सडक शिलान्यास कार्य र काँग्रेसीहरुको भ्रमको राजनीति प्रति खेद प्रकट गरिरहँदा अघिल्लो दिन मधेशा खण्डको सडक शिलान्यास गरेका प्रदेश एकका प्रमुख प्रतिपक्षी दलका नेता राजिब कोइरालाले वडाले झिकेको बखेडालाई बेतुकको राजनिति भनेका छन् । कोइरालाले इनरुवाको ५,६ हुँदै रामधुनीदेखि सैनिमैनी सडक नाम दिइएको आयोजना आफ्नै पहलमा आएको बताए । सुरुवाती ९५ लाखको योजनामा नै आफ्नो पहल रहेको बताएका कोइरालाले सोही योजना प्रदेश सरकारको बहुवर्षिय योजनामा समावेश भएको बताए ।
सांसदले योजना छान्ने समयमा आफुले मधेशा सडकसहित रामधुनीको दतकिच्चा पुल र देवानगञ्जको झोलुङगे पुल निर्माणको विषय बहुवर्षिय योजनामा समावेश गरि पाउँ भनि मूख्यमन्त्री समक्ष निवेदन गरेको कोइरालाले बताए । उनले भौतिक पूर्वाधार विकास मन्त्रालयबाट बहुवर्षिय योजना छनौट गर्नुपर्ने समयमा इनरुवा ६ हुदै सैनिमैनी जोड्ने सडकको पहल गरिएको स्पष्ट पारेका छन् । कोइरालाले पूर्वाधार बिकास कार्यालयले आयोजना गरेको शिलान्यास कार्यक्रममा वडासँग सम्वन्धित कार्यालयको समन्वय अभाव भएको हुन सक्ने बताए । उनले बिकासमा राजनीति गर्न नहुने बताए ।
कालोपत्रे सडक निर्माणको ठेक्का शर्मा भिमेश्वर जेभीले पाएको छ । आयोजना सम्पन्न गर्ने मिति २०७८ अशोज २३ गते सम्मलाई तोकिएको छ ।